बाराको कलैया पनि दंगाग्रस्त क्षेत्र घोषणा
बारा,१६भदौ । संयुक्त मधेसी मोर्चाको प्रदर्शनका कारण तनावग्रस्त बाराको कलैया र राजमार्गक्षेत्रलाई स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्दै कफ्र्यु लगाएको छ । मोर्चा र प्रहरीबीचको झडपका क्रममा प्रदर्शनले स्थिति बिगे्रपछि कलैयादेखि पथलैयासम्मको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै रातिको समयमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताउनुभयो ।
उहाँका अनुसार कलैयास्थित नेपाल टेलिकमको कार्यलयदेखि पश्चिम त्रिभुवन राजपथसम्म पुग्ने बिन्दुसम्मको सहायक राजमार्ग र दक्षिण परवानीपुरको ज्योति फार्मनजिकै रहेको मुक्ति आयल स्टोर्सदेखि पथलैयासम्मको त्रिभुवन राजपथलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । दुबै राजमार्गको करिब पाच सय मिटर दायाँबायाँको क्षेत्र पनि दंगाग्रस्त क्षेत्रभित्र राखिएको छ । प्रशासनले दंगाग्रस्त क्षेत्र घोषित राजमार्गमा बेलुका ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यूसमेत लगाएको छ ।
दंगाग्रस्त क्षेत्र घोषणा र कफर्यु आदेशपछि प्रशासनले सेना परिचालनको तयारी गरेको छ । मोर्चा र प्रहरीबीचको झडपमा मंगलवार कलैयामा २० वर्षीय हिफाजत मिया अंसारीको गोली लागेर मृत्यु भएको थियो । प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै प्रदर्शनकारीले राजमार्गका बिभिन्न ठाउँमा बिजुलीको पोल, हयूम पाईप र ढुंगा राखेर टायर बाल्दै प्रदर्शन गर्दै आएका छन् । यसैबीच, बाराकै कचोर्वा गाविसमा रहेको चौकी जलाउन पुगेका प्रदर्शनकारीलाई स्थानीयले रोकेका छन् ।