Live Streaming

प्रर्दशन उग्र भएपछि जनकपुरमा निषेधाज्ञा

मनिका झा  


जनकपुरधाम, १६ भदौ ।  आन्दोलनरत मधेशी मोर्चा तथा प्रहरीबीच झडप बढेपछि जनकपुरमा आज दिउँंसो १२ बजेदेखि स्थानीय प्रशासनले केही क्षेत्रलाई निषेधित घोषणा गरेको छ । धनुषाको सरकारी कार्यालय क्षेत्रलाई सुरक्षित गर्ने उद्देश्यले जनकपुर उप महानगपालिका वडा नं. ७ पुलचौक देखि कदमचौकसम्मको वाटो, वडा नं. ४ को स्मशान घाटदेखि जिल्ला अदालतको बाटो, उत्तीमपुर कोलनीका कार्यालयदेखि आन्तरिक राजश्व कार्यालयसम्मको क्षेत्रलाई  निषेधित क्षेत्र घोषणा गरिएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम आज दिउँंसो १२ बजे देखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराएका छन् ।  यी क्षेत्रहरुमा पाँचजना भन्दा बढीको समूहमा हिडडुल गर्न, सभा तथा जुलुस प्रदर्शनमा रोक लगाइएको प्रजिअ पराजुलीले बताएका छन्  ।


बुधबार बिहानैदेखि प्रर्दशनकारीहरुले मुरली चोकस्थित जनकपुर अंचल प्रहरी कार्यालयलाई लक्षित गरि टायर बाल्ने र नाराजुलुश प्रर्दशन गर्न थालेपछि सयौंको संख्यामा प्रहरीहरु सुरक्षार्थ खटाईएका छन् । सो क्षेत्रमा अहिले प्रहरी र प्रर्दशनकारी बिच ढुंगामुढा भइरहेको छ । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले अंश्रुग्याँस छाडेको छ । यता, मोर्चाका कार्यकर्ताहरुले दिउंँंसो २ बजेदेखि निषेधित क्षेत्रहरुमा प्रर्दशन गर्ने सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंहले जानकारी गराएका छन् । निषेधित क्षेत्रहरुमा प्रहरीको बाक्लो उपस्थीति रहेको छ ।