मधेशी मोर्चालाई वार्तामा आउन प्रमको आग्रह
काठमाडौं,१६ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मधेशी मोर्चालाई वार्तामा आउन फेरी आग्रह गर्नुभएको छ । गएराती तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका शिवजी यादवलाई टेलिफोन गर्दै उहाँले संविधान निर्माण लगायतका सबै राजनीतिक विषयमा संवादबाट समाधान खोज्न सकिने भएकोले औपचारिक रुपमा वार्तामा बस्न आग्रह गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
टेलिफोन वार्तामा तमलोपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री कोइरालाद्वारा औपचारिक वार्ताको लागि पठाइएको पत्र पाएको र वार्ताप्रति आफ्नो पार्टी सकारात्मक रहेको जवाफ दिनु भएको थियो । हिजो बेलुका नै प्रधानमन्त्री कोइरालाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई टेलिफोन गरेपनि उहाँसंग सम्पर्क कायम हुन नसकेकोले शिवजी यादवलाई फोन गरी वार्ताका लागि औपचारिक आग्रह गर्न खोज्नु भएको सन्देश पु¥याईदिन आग्रह गर्नुभएको थियो ।
यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुले सरकारले वातावरण बनाए वार्ताका लागि तयार रहेको बताएका छन् । तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले यसअघि मधेस आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयन गर्दै, जारी आन्दोलनमा दमन रोकेको खण्डमा आजै पनि बार्ता हुन सक्ने बताउनुभयो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शान्तिपूर्ण आन्दोलनमा सरकारी दमन बढेको भन्दै आफूहरुको आन्दोलनबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउने भएको छ ।
तराईका जिल्लाहरुमा आफूहरुले गरेको आन्दोलनमा सरकारले अत्याधिक बल प्रयोग गरेको भन्दै पत्रकार सम्मेलनमार्फत अन्तराष्ट्रिय जगतलाई ध्यानाकर्षण गर्न लागिएको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले जानकारी दिनुभयो । यसअघि सरकारले पनि आन्दोलन, संविधान निर्माणको विषय, प्रोटोकलबारे कुटनीतिज्ञ तथा अन्र्तराष्ट्रिय जगतलाई जानकारी गराएको थियो ।