एन्फाकोे साधारण सभा स्थगित
काठमाडौं,१६ भदौ । पुनरावेदन अदालतको आदेशसँगै अखिल नेपाल फुटबल संघ एन्फाको आज हुने भनिएको साधारण सभा स्थगित भएको छ । असन्तुष्ट पदाधिकारीले प्रकृया नपुगी साधारण सभा गर्न लागेको भन्दै रोक्न माग गरेको रिटको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले भोलिसम्म कुनै गतिविधि नगर्न फैसला गरेसँगै साधारणसभा तत्कालका लागि स्थगित भएको हो । अदालतले दुवै पक्षलाई भोलि छलफलका लागि बोलाएको छ ।
यसैबीच, एन्फाको उपलब्ध पदाधिकारीहरुको कार्यसमिति बैठकले भोलि अदालतमा उपस्थित भई आफ्ना विचार राख्ने निर्णय गरेको छ । एन्फाले दश पहाडी जिल्लाको मैदान मर्मतका लागि समान १० लाख तथा सुर्खेत र नवलपरासीका फुटबल संघलाई पाँच लाख आर्थिक सहयोग गर्नेसमेत निर्णय गरेको छ । कार्यसमितिको अर्को बैठक बिहीबार बस्ने पनि एन्फाले जनाएको छ । बैठकले नेपालको अन्डर नाइन्टिन राष्ट्रिय टिमका खेलाडीलाई तत्काल जनही दुई लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ । यसअघि सरकारले पनि जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।