Live Streaming

​हिंसात्मक बन्दै गएपछि पर्सामा सेना परिचालन

पर्सा,१६ भदौ । मधेशकेन्द्रित दलहरुको आन्दोलन हिंसात्मक बन्दै गएपछि तनावग्रस्त बनेको पर्सामा सेना परिचालन गरिएको छ । हिजो पर्साको विरगञ्जमा आन्दोलनकारी र प्रहरीबिच झडप हुँंदा ४ जनाको मृत्यु भएपछि हिसांत्मक आन्दोलन नियन्त्रण गर्न प्रशासनले सेना परिचालन गरेको हो । हिजो प्रहरीसँगको झडपका क्रममा विरगञ्जमा ४ तथा बराको कलैयामा १ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका छन् । स्थिती तनावग्रस्त भएपछि विरगञ्जलाई हिजोदेखि दगांग्रस्त क्षेत्रमा घोषणा गरिएको छ भने अस्तीदेखि कर्फ्यु पनि जारी छ । आन्दोलन तथा कर्फ्युका कारण सिमानाकामा रोकिएर रहेका सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाउन सुरु गरीसकेको छ । 


७ प्रदेशसहितको संघिय सिमाकंनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको तराइ बन्दका क्रममा प्रहरी र आन्दोलनकारीबिच झडप भएको हो । मोर्चाले आह्वान गरेको बन्दका क्रममा तराइका अन्य जिल्लामा पनि झडप हुनुका साथै सरकारी कार्यलय तथा सवारी साधनमा तोडफोड हुदै आएको छ । तिनसातादेखि जारी बन्दका कारण पर्सा लगायत तराइका अरु जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ । उता कैलालीको टिकापुरमा आज पनि कर्फ्यु जारी छ । 


यसैबीच नेपालको नयाँ संविधानमा मधेसीमाथि भेदभाव गर्न खोजिएको भन्दै भारतको राजधानी नयाँ दिल्लीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रस्तावित संविधानको विरोधमा उत्रिएका मधेसीविरुद्ध दमन गर्ने नीति सरकारले लिएको भन्दै उनीहरुले नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरेका हुन् । मंगलबार भएको प्रदर्शनमा नेपाली तथा भारतीय विद्यार्थीको सहभागिता रहेको जनाइएको छ । पढ्नका लागि नेपालबाट दिल्ली पुगेका मधेसी मूलका विद्यार्थी तथा दिल्ली विश्वविद्यालयका भारतीय विद्यार्थीसमेत सो प्रदर्शनमा सहभागि थिए ।