नेपाल बिजयी
काठमाडौं,१४ भदौ । मलेसियामा जारी एसिसि अण्डर १९ प्रिमियर लिग क्रिकेटको आफ्नो तेश्रो खेलमा नेपाल बिजयी भएको छ । घरेलु मैदानमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा दोश्रो जित दर्ता गरेको हो । जितका लागि पाएको ७६ रनको झिनो चुनौती नेपालले १४ दशमलब ४ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो । नेपालको जितमा आशिस धामिले अबिजित ३८ र राजबिर सिंहले ३३ रनको योगदान दिए । ओपनर दिपेश श्रेष्ठ ब्यक्तिगत ९ रनमा पेबेलियन फर्के ।
जित संगै नेपाल अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । यसअघि बायोमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टोली मलेसिया ३८ ओभरमा ७५ रनमै समेटिएपछि नेपालले जितका लागि झिनो लक्ष्य प्राप्त गरेको थियो । खेलको सुरुबात देखिनै आक्रामक बलिङ गरेको नेपाली बलरसामु मलेसियाका कुनै ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । उसलाई सस्तो मै समेट्न नेपालका आरिफ शेखले ४ तथा दिपेश श्रेष्ठ र दिपेन्द्रसिंह ऐरील २–२ तथा शुसिल कडेले १ विकेट लिए । मलेसियाका लागि पवनदास सिंहले १७, बिमलान पालानिन्डिले १२ र शंकर शतिसले १३ रन बनाएपनि अन्य ब्याटस्म्यानले दोहोरो अंक छुन सकेनन् ।
आजै सम्पन्न खेलमा अफगानिस्तानले युएईलाई १० विकेटले पराजित गर्दै शिर्ष स्थानमा जमेर बसेको छ । टस जितेर ब्याटिङ गरेको युएई ३० दशमलब ५ ओभरमा ८८ रनमा समेटिएको थियो । ८९ रनको चुनौती अफगानिस्तानले बिना बिकेटको क्षति १२ दशमलब ५ ओभरमा पुरा गरेको थियो । उसका हज्रतुल्लाह र नासिर खानले समान ४१–४१ रन बनाए । उता कुबेतले साउदि अरेयिबासामु जितका लागि २ सय ५१ रनको उच्च चुनौती प्रस्तुत गरेको छ । टस जितेर सुरुबाती ब्याटिङ गरेको कुबेतले निर्धारित ५० ओभर पुरै खेल्दै सबै विकेट गुमाएर २ सय ५० रन बनाएपछि साउदि अरेबियाले सो चुनौती पाएको हो । नेपालले भने आफ्नो चौथो खेलमा भोली कुबेतसंग प्रतिस्पर्धा गर्नेछ ।