Live Streaming

वन्तको सुडान भ्रमण रद्द

सुवास गोतामे

काठमाडौं,१४ भदौ । सुडानमा पहिलोपटक हुन लागेको मेडल परेडमा सहभागी हुन जाने तयारीमा रहेका सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तले अन्तिम क्षणमा रद्द गरेका छन्। वन्त १० दिने भ्रमणका लागि आइतबार सुडान जाने तयारीमा थिए। स्रोतका अनुसार गृहसचिव सूर्यप्रसाद सिलवालले भ्रमण रद्द गर्न वन्तलाई दिएको निर्देशनमा पुनर्विचार नगरेपछि उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले नै रोक्ने आदेश दिनुपरेको थियो।यसअघि विभागीय मन्त्री गौतमले नै वन्तको भ्रमण प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गराएका थिए। 

 यसबीचमा कैलालीको टीकापुर घटना भएपछि पनि वन्तले भ्रमणमा जाने अन्तिम तयारी गरेका थिए। उनले विभागका प्रमुखहरू डाकेर छलफल पनि गरेका थिए।  बैठकमा केही एआईजी तथा डीआईजीहरूले आन्दोलनका बेला सशस्त्रले प्रहरीलाई सहयोग नगरेको आरोप बाहिर आइरहेका बेला संगठन प्रमुख नै बाहिर जाँदा झन् नराम्रो सन्देश जाने बताएका थिए। कैलालीको टीकापुर घटनामा सशस्त्र प्रहरीले गोली नचलाएकै कारण प्रहरीतर्फ धेरै क्षति भएको आरोप लाग्दै आएको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी पुष्पराम केसीले भने,आईजीपी साप् सुडान जाने कार्यक्रम मुलुकको अवस्थालाई मूल्यांकन गरेर अन्तिम समयमा आएर स्थगित भएको हो।