Live Streaming

शल्यक्रिया नहुँदा आमा र पेटको शिशुको मृत्यु

किशोर बुढाथोकी

चिकित्सकको चरम लापरवाही 

विराटनगर, १३ भदौ । तत्काल शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्ने अवस्थामा विराटनगर स्थित नोबोल मेडिकल कलेजमा भर्ना भएकी गर्भवती महिला र उनको पेटभित्र रहेको शिशुको समेत मृत्यु भएको छ । समयमा अप्रेशनका लागि अस्पताल प्रशासन र चिकित्सकले ध्यान नदिँंंदा आमा र बच्चा दुबैको ज्यान गएको हो ।

चिकित्सकको लापरवाहीका कारण उदयपुर बेलटार ९ की गर्भवती २७ वर्षीय कल्पना बस्नेत (सुवेदी) र उनको पेट भित्र रहेको शिशुको मृत्यु भएको भन्दै आफन्त आक्रोशित बनेका छन् । सरकारले प्रसूति सेवालाई निशुल्क गरेपछि आफूले पाउने कमिसन नपाउने भएकाले पनि प्रसूति सेवामा चिकित्सकले लापरवाही गर्ने गरेको आरोप आफन्तले लगाएका छन् ।


सुत्केरी व्यथाले च्यापेपछि कल्पनालाई गत शुक्रबार बिहान ९ः३० बजे नोबेलमा भर्ना गरिएको थियो । चिकित्सकले शुक्रबार बेलुकानै अप्रेशन गर्नु पर्ने नभए ज्याननै जोखिममा रहेको भनेपनि हिजो दिउँसो सम्म अप्रेशन नगर्दा गर्भवती महिला र पेट भित्र रहेको शिशुको मृत्यु भएको आफन्तको भनाइ छ । चिकित्सकको चरम हेलचेक्राईको सिकार गर्भवती महिला हुनु परेको उनीहरुले बताए । हिजो दिउँसो ३ः३० बजे एक्कासी मुखबाट ¥याल, फिँज र नाकबाट सिंङ्गान निकालेर बेहोस बनेकी गर्भवती अवस्थाकी कल्पनाको केही बेरमै मृत्यु भएको हो । 


चिकित्सकको लापरवाहीका कारण कल्पनाको मृत्यु भएको भन्दै आफन्तले आज सम्मपनि लास जिम्मा लिन मानेका छैनन् । ‘आफूले दिएको समयमा अप्रेशन नगरेर बिरामीको मृत्यु नै हुनु भनेको  चिकित्सकको चरम लापरवाही हो । गर्भवतीको मृत्यु किन र कसरी भयो भन्ने स्पष्ट जवाफ नआउनजेल सम्म हामी लास जिम्मा लिंदैनौं,’ दाजु रमेशले भन्नु भयो, ‘लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनु पर्छ भन्ने मुख्य माग हाम्रो हो ।

हामी क्षतिपूर्ति पनि माग्दैनौं । तर आगामी दिनदेखि यस्तो गल्ती नहोस र गर्भवतीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्य हो ।’ नोबेलका गाईनोक्लोजिष्ट (प्रसूति तथा महिला रोग विशेषज्ञ) डा. अमित सिंहले अप्रेशन गर्न लैजाँदै गर्दा गर्भवती महिलाको मुखबाट एक्कासी फिँज आएको र त्यसपछि मृत्यु भएको र यसमा चिकित्सकको कुनैपनि लापरवाही नभएको बताउनु भयो ।