बन्दले अस्तव्यस्त जनकपुर
मनिका झा
जनकपुरधाम, भदौं १३ गते । लगातार १५ दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण जनकपुरवासीलाई हातमुख जोर्न समस्या उत्पन्न भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा विभिन्न राजनीतिक दलहरुको समर्थनमा जारी आमहड्तालको क्रममा बैंक, यातायात, उद्योग, कलकारखाना, बजार तथा शैक्षिक संस्थानहरु ठप्प रहेका छन् ।
आन्दोलनकारीहरुले बैंक तथा एटिएमहरु समेत बन्द गराएपछि सर्वसाधारणहरुलाई रकम भएर पनि आवश्यक सरसामानहरु किन्न अप्ठ्यारो भएको हो । हड्तालको कारण बजारमा खाद्यान सामग्री देखि लिएर पेट्रोलियम पदार्थ सम्ममा कालाबजारी बढेको छ ।
अहिले जनकपुरमा पेट्रोल पम्पहरु बन्द भएको कारण मोटरसाईकल सहित अन्य सवारी साधानका लागि पेट्रोल पाउन गाहे भएको छ । केही पानपसलेहरु र किराना पसलेहरुले पहिलादेखि किनेर राखेको पेट्रोल बन्दको क्रममा १ सय ५० देखि २ सय सम्म प्रतिलिटर पाउने गरेको छ । त्यसैगरी खानापकाउने ग्याँस, किरानाका सामानहरु लगायत आवश्यकय सरसामानहरुको मुल्य आकाशिएपछि जनजीवन नराम्ररी प्रभावित भएको स्थानिय अनिल साहले बताए ।
बन्दको क्रममा सबैभन्दा बढि प्रभाव दैनिक ज्यालादारी गरेर खाने मजदुरहरुलाई परेको हो । स्थानिय जनक चोकमा खुद्रा पसल संचालन गर्दै आएकी ललिता देविले एक तर्फ व्यवसाय नचल्दा आम्दानी ठप्प भएको र अर्को तर्फ खाद्यान सामग्रीको दाम आकाशिएकोले एक सांझ खाने र अर्को सांझ भोक्कै सुत्नु पर्ने अवस्था रहेको बताइन् ।
पैसा हुनेहरुले त जसो तसो खाद्यानको जोगार गरेपनि दैनिक कमाएर मात्र खान सक्नेलाई बाँच्नै गाहे भएको ठेला मजदुर मदनप्रसाद कुर्मीले बताए । बन्द खोलाउनका लागि जनकपुर उद्योग वाणिज्य संघले पनि हाल सम्म कुनै पहल गरेको छैन । रक्षाबन्धनलाई दृष्टिगत गर्दै शुक्रबार सांझ ३ बजेदेखी शनिबार सांझ ५ बजेसम्म बन्द अलि खुकुलो बनाइएको थियो । तर, आइतबार बिहानदेखि पुनः मोर्चाका कार्यकर्ताहरुले नगरक्षेत्रमा मोटरसाईकल जुलुश प्रर्दशन गर्दै बजार बन्द गराएका थिए ।
यता, यातायात बन्द भएपछि सबैभन्दा बढी फाइदा ईलोक्ट्रोनिक रिक्सा सञ्चालकहरुलाई भएको छ । अत्यावश्यक कामले यस्ता रिक्सा प्रयोग गर्नेहरुसंग चर्को भाडा असुली गर्ने गरेका छन् । अन्य दिनको तुलनामा अहिले यी रिक्सा चालकहरुले तेब्बर भाडा लिने गरेको सर्वसाधारणहरुले बताउँंंछन् ।