थारुको बन्दमा झडप, प्रहरी निरीक्षकसमेत नौ जना घाइते
चितवन, १३ भदौ । थारु कल्याणकारिणीसभा चितवनले आह्वान गरेको बन्दमा आज नारायणगढका व्यवसायीले बजार खुल्न दबाब दिएपछि दुई पक्षबीच झडप भएको छ । सो क्रममा नौ जना घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा सामान्य घाइते भएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए। सो क्रममा आठ जना बन्दकर्ता सामान्य घाइते भएको थारु कल्याणकारी सभा चितवनका अध्यक्ष विश्राम महतोले बताए।
बन्द गराउने र खुलाउने बीचमा विवाद भएपछि अवस्था सामान्य बनाउन सहजीकरणमा जुटेका प्रहरी निरीक्षक थापालाई ढुङ्गाले बायाँ कुहिनोमा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । थापाले दुई पक्ष मिलाउने क्रममा ढुङ्गाले हातमा लागेको बताए।यता महतोले बन्द नगर्न बिहानैदेखि दबाब दिँदै आएको समूहले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाए।
बन्दका कारण जनजीवन प्रभावित बनेको छ । सवारी साधन सहज सञ्चालन नभएपछि लामो दूरीका सवारी साधनलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको छ । प्रहरी प्रमुख थापाले बिहान ११ बजेसम्म ३०० वटा गाडीलाई गन्तव्यतर्फ पठाइएको बताए। पूर्वबाट आएका गाडीलाई वाइपास हुँदै मुग्लिन र पश्चिमतर्फ पठाइएको छ भने पश्चिमतर्फबाट आएका गाडीलाई नारायणी किनारको बाटो प्रयोग गरी मुग्लिन तथा पूर्वतर्फ पठाइएको उनले बताए।
बन्दले कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प बनेका छन् । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा भएका थारुसँगको सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै चितवनका थारु समुदाय आन्दोलित बनेका हुन् । थारु कल्याणकारिणी सभा चितवनका सभापति महतोले आफ्नो बन्द शान्तिपूर्ण भएको बताए । रासस