औषधि किन्न गएका ठाकुर मारिए
फणि महत
गौर,,१३ भदौ । सुरक्षाकर्मीको गोली लागी गत मंगलबार गौरमा मृत्यु भएका राजकिशोर ठाकुरको परिवार अझै मन बुझाउन सक्ने अवस्थामा फर्केको छैन । घरबाट औषधि गर्न सदरमुकाम गौर गएका ठाकुरको मृत्युको खबरले पूरै गाउँ शोकमा डुबेको छ ।
हेटौंडामा सात वर्षदेखि अनामिका हेयर सैलुन सञ्चालन गर्दै आएका २४ वर्षीय ठाकुर सैलुनको सामान किन्न र सुत्केरी पत्नी र छोरा भेट्न घर आएका थिए । १० दिनअघि हेटौंडाबाट घर आएका उनको दाहिने पाखुरा दुखेकाले उपचारका लागि सोही दिन साथीसँगै गौर गएका थिए ।
हेटांैडामा कपाल काट्ने काम गर्दै आएका मृतकका बुबा महेन्द्र ठाकुरले भने, ‘सैलुनको सामान किनेपछि बन्द खुल्नेबित्तिकै आउँछु भनेर फोन गरेको थियो । गोली लागेर मारिएको खबर सुन्नुपर्यो ।’मृतक ठाकुरकी १८ वर्षीया पत्नी अंशुदेवी ठाकुर डेढमहिने छोरा काखमा लिएर रातदिन रोइरहेकी छन् । अंशुदेवीले भनिन्, ‘हात दुखेको थियो । गौरमा उपचार गर्न गएका थिए तर गोली लागेर मारिए ।’
मंगलबार दिउँसो पति मारिएको घटना सुनेदेखि उनी अर्धचेत अवस्थामा छिन् । उनको आँसु रोकिएको छैन । आँसु खसाल्दै उनले भनिन्, ‘औषधि गर्न गएका मेरा पति किन मारिए ? मैले न्याय पाउनुपर्छ ।’
ठाकुरकी ५५ वर्षीया आमा सिकिलियादेवी ठाकुर कान्छो छोरा मारिएको खबरले शोकमा छिन् । उनलाई अझै पनि छोरा मरेको छैनजस्तै लागेको छ ।एक वर्षदेखि राजकिशोर ठाकुरलाई दाहिने पाखुरा दुख्ने रोग लागेको थियो । सामान्य उपचार गर्दै औषधि खाइरहेका उनी त्यस दिन धेरै दुखेपछि जिल्ला अस्पतालमा उपचार गराउन गएका थिए ।
बिहानको खाना खाएर औषधि गर्न गाउँकै चन्देश्वार सिंहलाई साथी लिई करिब दुई घन्टा पैदल हिँडेर उनी गौर गएका थिए । साथै गएका चन्देश्वरका अनुसार गौर बजार छिर्ने नाकामा प्रहरी र आन्दोलनकारीबीच झडप भएको र आफूहरू त्यहाँबाट भाग्न लाग्दा राजकिशोरलाई प्रहरीको गोली लागेको हो ।
बाटोमा कुराकानी हुँदा राजकिशोरले बन्द खुल्नेबित्तिकै हेटौंडा जाने बताएको जानकारी चन्देश्वर सिंहले दिए । ठाकुर मारिएपछि मठिया गाविसको महोलिया गाउँका बासिन्दा आक्रोशित छन् ।स्थानीय प्रशासनले परिवारलाई शव जिम्मा लगाउने बताए पनि परिवारले सहिद घोषणा, क्षतिपूर्ति, परिवारका सदस्यलाई योग्यताअनुसार जागिरलगायतको माग राखेका छन् ।
पाल्ने छोरा नै मारिएको र सम्पत्तिका नाममा चार कट्ठा जमिन मात्रै रहेकाले सरकारले बाँच्ने आधार बनाइदिनुपर्ने माग मृतक ठाकुरका बाबु महेन्द्रको छ । छिमेकी पारसनाथ श्रीवास्तवले भने, ‘नसोचेको घटना भयो, पीडित परिवारले न्याय पाउनुपर्छ ।’ मृतक ठाकुरको शव मंगलबारदेखि जिल्ला अस्पताल गौरमा कडा सुरक्षा दिएर राखिएको छ । माग पूरा नभएसम्म शव नउठाउने आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले बताएका छन् ।