अझै त्रस्त छ टीकापुर
शिवराज भट्ट
टीकापुर (कैलाली): टीकापुरकी सीता बर्मा अझै सामान्य हुन सकेकी छैनन्। चार दिनअघि एसएसपी लक्ष्मण न्यौपाने आक्रमणकारीको कब्जाबाट फुत्केर उनकै घरमा पसेका थिए । त्यहाँबाट थुतेर उनकै अगाडि न्यौपानेमाथि आक्रमण भएको थियो।
उनले त्यो भयावह दृश्यको बयान बिहीबार यसरी गरिन्, 'मेरो घरभित्र पसिसक्नुभएको थियो तर तानेर बाहिर निकाले। कसैले भाला त कसैले किला गाडेको लट्ठीले हाने। मेरो सिलौटाले समेत उहाँको टाउकोमा हानेर मारे।' अर्की प्रत्यक्षदर्शी हस्तिना बटालाले भनिन्, ‘घाइते बनाएर त छोड्नुस् भन्दा पनि मानेनन्।'
बटालाको घरनजिकै प्रहरी जवान लोकेन्द्र चन्द र सशस्त्र प्रहरी हबल्दार हरिनारायण चौधरीको ज्यान गएको हो। सुरक्षाकर्मीहरूको ज्यान जाने गरी घटना भएको ४५ मिनेटपछि सहायक प्रहरी हबल्दार नेत्र साउदका २ वर्षीय छोरा टेकेन्द्रमाथि गोली प्रहार भएपछि स्थानीय झनै त्रसित छन्। अर्का स्थानीय श्याम भट्टले भने, 'दुवै प्रहरीनिरीक्षकलाई भालाले हानेको आफ्नै आँखाले देखें। सशस्त्रलाई त हामीले समेत गोली चलाऊ भन्यौं तर चलाएन।'
भट्टलाई सशस्त्रको व्यवहारले अहिले पनि रिस उठेको छ। उनले भने, ‘मैले त हतियार के चट्नी पकाउन हो पनि भनें । आफू पनि भूपू भएकाले मलाई सारै झोक चलिरहेको थियो।' अहिले टीकापुर आसपासका धेरैजनाले घर छाडेका छन्। 'त्यो घटनापछि बालबालिका त्रसित छन्। तीनतले घर छोडेर टीकापुर बजारमा बस्न बाध्य भएको छु’, मृतक दुई वर्षीय बालक टेकेन्द्रका बुबा नेत्रले भने। उनका दुई सन्तानमध्ये जेठी छोरी, दाइ र भाइका बच्चा र भान्जी पनि त्यो घरमा बस्न मान्दैनन्।
‘हामीले घाइते प्रहरीलाई पानी खुवायौं। बाउन्ड्रीवाला घर भएकाले सुरक्षित पार्यौं। त्यही रिसमा सशस्त्रका एसपीको हराएको हतियारबाट गोली चलेको हो', टेकेन्द्रकी आमाले भनिन्। अहिले टीकापुरमा थारू र पहाडी दुवै समुदायका मानिस त्रस्त छन्। फूलबारी एफएममा लगाएको आगो देखेपछि त्यसअगाडि घर भएकी पार्वती कुस्मी राति घरमा बस्दिनन्। 'डर लाग्छ । राति आफन्तकोमा जान्छु’, उनले भनिन्।पार्वतीका श्रीमान् पनि पाँच गतेदेखि घर छोडेर बाहिर गएका छन्।
'जतिबेला जे पनि हुनसक्छ भनेर उहाँ बाहिर जानुभएको छ', उनले भनिन्। दुई महिनाअघि मात्रै उनको परिवार बलियाबाट टीकापुरमा नयाँ घर बनाएर सरेको हो।लम्कीबाट टीकापुरका लागि दक्षिण मोडिँदा सडकवरिपरिको बस्तीमा सन्नाटा थियो। सडकबाट नदेखिने गरी बसेका बालबालिका गाडीको आवाज सुनेर कुनाबाट चियाउँदै हेरिरहेका थिए। लम्की-चुहा नगरपालिकाको केही भाग छिचोल्नेबित्तिकै पथरैया गाविस आउँछ।
त्यहाँ भदौ ४ गते अखण्ड सुदूरपश्चिम पक्षको मोटरसाइकल र्यालीसँग झडप भएको थियो। ११ वटा मोटरसाइकल जल्ने गरी भएको त्यो घटनाको सन्त्रास अझै छ। सडकवरिपरिका सटर सबै बन्द छन्।टीकापुर पुग्नुअगावै दुर्गौली गाविसको सिमानामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ थिए। त्यहाँबाट दंगाग्रस्त क्षेत्र सुरु हुन्छ।
अरू चियापसलमा भेला भएर राजनीतिक गफहरू हुने टीकापुरको इलाका प्रहरी कार्यालय अगाडिको कान्छीबजार चोकमा सन्नाटा थियो। थारू आन्दोलनका यस क्षेत्रका संयोजक रेशम चौधरीको फूलबारी रेडियो कार्यालयमा चार दिनपछि पनि धुवाँ आइरहेकै थियो।
बल्ल पुगे आईजीपीहरू
आक्रमणमा ८ सुरक्षाकर्मीसहित ९ जनाको ज्यान गएको चार दिनपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुखहरू शुक्रबार टीकापुर पुगेका छन्। नेपाल प्रहरीका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी र गृह सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकाल टीकापुर पुगेका हुन्।