तराईको जनजीवन कष्टकर बन्दै
काठमाडौं,११ भदौ । संविधान निर्माण प्रकृया र प्रदेशको सिंमाकन लगायतका विषयमा गरेको सहमती मान्य नहुने भन्दै विगत १६ दिनदेखी संयुक्त मधेशी मोर्चाले गरेको बन्दका कारण तराइको जनजीवन कष्टकर बनेको छ । मधेशलाइ अलग राखिएको, थरुहट प्रदेश नवनाएको, जनजातीका मुद्धा समावेश नगरिएको लगायतका आरोप लगाउंदै विभिन्न समुहले छुट्टा छुट्टै गरी लगातार १६ दिनको बन्दले, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, कपिलवस्तुको जनजिवन अत्यन्तै कष्टकर बनेको छ ।
पछिल्लो समय दैनिकजसो संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले प्रदर्शन चर्काउँदै बन्दलाइ निरन्तरता दिंदा बजारमा खाद्यान्न लगायत दैनिक उपभोग्य सामानको अभाव भएको छ । बन्दका कारण पूर्व पश्चिम महेन्द्र राजमार्ग चल्ने लामो तथा छोटो दुरीका सवारीका साधन चलेका छैनन् ।
सवारी साधनमा आगजनी भएपछि महोत्तरी प्रहरीले राजमार्गमा एस्कर्टिङ गर्न शुरु गरेको छ । महोत्तरीको लक्ष्मिनियाँ जंगलमा बुधबार साँझ बन्द कर्ताले दुई वटा गाडीमा आगजनी गरेपछि सशस्त्र र नेपाल प्रहरीले पूर्व पश्चिम राजमार्ग र बर्दिबास सिन्धुली सडक खण्डको जंगल क्षेत्रमा सवारी साधनलाई स्कर्टिङ गर्न थालेको हो । महोत्तरीको रातु पुलदेखि सर्लाहीको सागरनाथसम्म झण्डै २५ किलो मिटर जंगल क्षेत्रमा स्कर्टिङ गरेर सवारी साधनलाई जंगल पार गराइएको शसस्त्र प्रहरी बल छिन्नमस्ता गण बर्दिबासका गणपति एसपी सुदर्शन सिलबालले जानकारी दिनुभयो ।