Live Streaming

​टिकापुरको जनजीवन अस्तव्यस्त

धनगढी, ११ भदौ । कैलालीको टीकापुर गत सोमबार भएको हिंसात्मक आक्रमणपछि सो क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । नागरिकहरुलाई आवश्यक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समयको बन्दसंगै टीकापुरमा कफ्र्यू आदेश जारी भएपछि जनजीवन झनै अस्तव्यस्त बनेको हो ।

घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जना सुरक्षाकर्मी र १ जना बालकको हत्या भएपछि नागरिकहरु त्रसित छन् । घटना भएको टीकापुर नगरपालिका वडा नम्बर ६ शंकपुरका बासिन्दामा अझै त्रासको वातावरण छ । उनीहरु त्रासका कारण घरमा समेत बस्न सकेका छैनन् । कतिपय घर छोडेर आफन्तको घरमा शरण लिन पुगेका छन् । शंकरपुरका आधा भन्दा बढी घरमा ताला लगाइएको छ । 


यसैबीच टीकापुर घटनामा संलग्न अभियोगमा पक्राउ परेका १० जना मध्ये ७ जनालाई ज्यान मुद्धा दर्ता गरिने भएको छ भने ३ जनालाई रिहा गरिएको छ । ७ जनाले घटनामा आफ्नो संलग्नता भएको स्वीकार गरेपछि मुद्धा चलाउने तयारी गरेको हो ।  कैलाली मनुवा– १ कन्चनपुरका वर्ष २२ का दिलबहादुर चौधरी, वर्ष २८ का रामकुमार कठरिया, वर्ष २५ का राजकुमार कठरिया  र २३ वर्षका सुन्दरलाल कठरिया छन् ।

त्यसै गरि जोशीपुर ४ का झवहीका ४४ वर्षका रामप्रसाद चौधरी, भजने त्रिशक्ति नगरपालिका ४ का वर्ष ४० का प्रेमबहादुर चौधरी, मनुवा गाविस ४ का २२ वर्षका हरिनारायण चौधरी रहेका छन् । उनीहरुलाई धनगढीस्थित जिल्ला अदालत लगेर बुधबार १० दिनको म्याद थप गरिएको थियो ।