असुरक्षाका कारण प्रहरी चौकी खाली गरेसँंगै आगजनी हुन थाल्यो
फणि महत
रौतहट, ९ भदौ । आन्दोलनकारीले आक्रमण गर्ने डरले रौतहटको दुई दर्जन प्रहरी चौकीहरुबाट प्रहरीलाई अन्त सारिएको छ । प्रहरीले चौकी छाडेपछि खाली चौकीहरुमा आगजनी हुन थालेको छ ।संयुक्त मधेशी मोर्चाको दुई सातादेखिको आन्दोलन हिंसात्मक बन्दै गएपछि जिल्ला सुरक्षा समितीले गाउँगाउँंमा रहेका प्रहरी चौकी खाली गराएको हो । इलाका प्रहरी कार्यालय पिप्राराजवडा, सन्तपुर दोस्तिया, मठिया प्रहरी चौकी , जंगलसैया, दुधियाभार, बिश्रामपुर, नरकटिया भवानीपुर, चेतनगर प्रहरी चौकीलगायत २० भन्दा बढी स्थानमा रहेका चौकीका प्रहरीहरुलाई नजिकै हरेको सुरक्षित इकाइमाहरुमा सारिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी शुधिरराज शाहीले भने ‘सुरक्षा समितीको निर्णयले आवश्यक देखिएका चौकीहरु खालि गराइएको छ ।’गाउँंका चौकीबाट प्रहरी हटाइएपछि स्थानियहरु थप त्रसित बनेका छन् । चेतनगर प्रहरी चौकी खाली गराइएको भन्दै प्रहरी नहटाउन स्थानियले माग गरेका छन् ।प्रहरीले चौकी छाडेपछि खाली चौकीहरुमा आक्रमण र चौकीको काठ तथा समानहरु चोरी हुन थालेको छ ।
मंगलबार साँंझ आक्रोशित भीडले मठिया गाविसमा रहेको खाली प्रहरी चौकीमा आगजनी गरेका छन् । बिश्रामपुर चौकीमा तस्करहरुबाट बरामद गरिराखेको १० थान भन्दा बढी सालको गोलिया प्रहरीले छाडेपछि गएराति चोरी भएको छ । मंगलबार दिउँंसो औरैया गाविसमा रहेको शसस्त्र प्रहरीको पोष्ट आक्रमण गर्न गएकाहरु लाइ स्थानियबासीले रोक्न खोज्दा आन्दोलनकारी र स्थानियबिच केहिबेर झडप भएको छ ।
दुईसाता देखिको आन्दोलनले उग्ररुप लिएपछि सोमवार र मंगलवार सदरमुकाम गौरमा सुरक्षाकर्मी र आन्दोलनकारी बिच झडप भएपछि जिल्लाको अवस्था असहज बनेको थियो ।गाउँंगाउँंमा पनि आन्दोलनकारीहरुले प्रहरी माथी आक्रमण गर्न सक्ने खतरा बढेकाले प्रहरीहरुलाइ सुरक्षित ठाउँंमा सारिएको रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । स्थिती सामान्य भएपछि केहि दिनभित्रै खालि गराइएको प्रहरी चौकीहरुमा प्रहरी पठाइने समेत प्रजिअ भुजेलले जानकारी दिएका छन् ।
जिल्लामा अस्थायी प्रहरी पोष्ट सहित ४२ वटा प्रहरी इकाइहरु रहेका छन् । मंलबवार भएको झडपका क्रममा गोली लागि मृत्यु भएका मठिया गाविस ६ का राजकिशोर ठाकुरको शव जिल्ला अस्पतालमा राखिएको छ । मधेशी मोर्चाले मृतकलाईसहिद घोषणा , ५० लाख क्षेतीपुर्ती , न्यायिक छानविन समिती गठन , आश्रीत परिवारका एकजना सदस्य रोजगारी लगाएको माग राखेर शव उठाउन दिएका छैनन ।
प्रमुख जिल्ला अधिकारी भुजेलले भने आधिकारीकरुपमा माग राखेको बारेमा जानकारी छैन ।बुधबार गौरमा जुलुश, प्रर्दशन केही भएका छैनन् । बजारहरु पूर्णरुपले बन्द रहेको छन् । मानिसहरु फाटफुट सडकमा निस्कन थालेका छन् । दगांग्रस्त क्षेत्र घोषणा गरीएकाले गौरबजार क्षेत्रमा सयौ सुरक्षाकर्मीहरु खटाइएको छ । सोमबार र मंगलबार गौर क्षेत्र पूर्णरुपले तनाव थियो , झडपमा ३० जनाभन्दा बढी घाइते भएका थिए । माग पुरा नभएसम्म आन्दोलन नरोकिने संयुक्त मधेशी मोर्चाका जिल्ला स्तरिय नेताहरुले बताएका छन् ।