चट्याङ लागेर दुईको मृत्यु, बालक घाइते
रत्नप्रसाद आचार्य
इटहरी,९ भदौ । सुनसरीको कप्तानगञ्ज गाविसमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बुधवार अविरल बर्षासँंंगै परेको चट्याङ लागेर कप्तानगञ्ज गाविसका ६ का ६५ बर्षिया मोहरीदेवी सरदार र उनकी ७ वर्षीया नातीनी चाँदनीकुमारी सरदारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले बताएका छन् ।
बिहान ९ बजे घरमा बसिरहेको अबस्थामा पानीसँंंगै परेको चट्याङ लागेर मोहरीदेवीका ५ वर्षीय नाती संजयकुमार सरदार गम्भीर घाइते भएका छन् । उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानिय उमेश मेहताले बताए । घाइते संजयको छाउकोमा गम्भीर चोट लागेको छ भने शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । चट्याङ लागेर दुईजनाको मृत्यु भएपश्चात कप्तानगञ्ज गाविसको सिंगो ६ नम्बर वडा शोकमा डुबेको छ ।