Live Streaming

विद्यालयलाई बाखा वितरण

छेटु शेर्पा 

संखुवासभा,९ भदौ । गरिब जेहेन्दार विद्यार्थी पढ्दै आएका भोजपुरका दुई विद्यालयलाई ६० वटा बाख्रा वितरण गरिएको छ । दक्षिण कोरियाको हुमेन फाउण्डेसन संस्थाले अध्यनरत गरिब विद्यार्थीका परिवारलाई वितरण गर्न विद्यालयलाई उन्नत जातको बाख्रा वितरण गरेको हो ।

 विद्यालयले गरिब र बालबालिका विद्यालय आउन प्रोत्साहन मिल्ने गरी अभिभावक छनौट गरी ३० परिवारलाई बाख्रा वितरण गरेको छ । प्रत्येक परिवारले बाख्राबाट भएको आम्दानीको १० प्रतिशत नाफा विद्यालयको कोशमा जम्मा गर्नु पर्ने नियम बनाएको छ । 

हुमेन फाउण्डेसनका रिपोर्टर लिजुङ्गले  ट्रेकिङ क्याम्प नेपालका डाइरेक्टर ओङछु शेर्पा र दोर्ची शेर्पाको पहलमा बाख्रा वितरण गरेको हो । खाटाम्मा–६ को साकेचुङ प्रावि र खाटाम्मा–५ को चाँपगुराँस प्राविले विद्यालयमा अध्यनरत ३० गरिब विद्यार्थींका अभिभावकलाई दुई वटाका दरले ६० वटा बाख्रा वितरण गरेको छ । 

१० बाख्री लाई एक बोकाका दरले छ वटा बोका समेत बितरण गरिएको छ । व्यवसायिक रुपमा  पाठापाठी उत्पादन र मासु उत्पादन गर्ने र आम्दानीले बालबालिकालाई थप विद्यालय पठाउन सहयोग गर्ने लक्षले बाख्रा वितरण गरिएको लिजुङले बताउनुभयो । 

अधिकांश विद्यार्थीहरु गरिबीको रेखा मुनी रहेको र भुकम्पले भोजपुरको खाटाम्मा र दोभानेमा बढी क्षति पु¥याए पछि विद्यालयलाई सहयोग गर्न तत्पर बनेको बाख्रा वितरण समितिका स्थानीय संयोजक आङछिरिङ शेर्पाले बताउनुभयो । भुकम्पले विद्यालय क्षतिग्रस्त भए पनि राज्यले पुनःनिर्माणका लागि पहल नगरेको,अस्थायी चित्राले छाएको गोठमा विद्यार्थीहरु पढ्न बाध्य भएको संयोजक आङछिरिङ शेर्पा बताउनुभयो । 

बाख्रा बितरणले गरिव विद्यालयलाई थप शैक्षिक विकासमा सुधार गर्ने, विद्यालयले गरिब विद्यार्थीलाई थप निशुल्क छात्रवृत्ती दिएर साक्षरता दर बढाउने, अभिभावकलाई बालबालिका विद्यालय पठाउन उत्प्रेरित गर्ने साकेचुङ प्राविका प्रअ काजी तामाङले बताउनुभयो । 

निजी विद्यालय भन्दा पनि सामुदायिक विद्यालयमै पढनु उत्साहित गर्ने लक्ष राखेर विद्यालयलाई एक एक थान कम्प्युटर सेट समेत उपलब्ध गराएको छ । पाँचगुराँस प्राविका व्यवस्थापन समिति अध्यक्ष आङङक्त्ते शेर्पा बाख्रापालनबाट आर्थिक सम्वृद्धि गरी थप उदाहारणीय काम गर्नु पर्ने आवस्यकता भएको बताउनुभयो । 

पढाइको स्तर भन्दा पनि निजी विद्यालयप्रतिको नक्कल बडेको, गाँस काटेर भए पनि निजी विद्यालयमा बालबालिका पढाउने प्रचलनलाई अन्त्य गर्न सामुदायिक विद्यालयलाई सहयोग पुग्ने अभिभावक पुष्प तामाङको आशा छ । 

उनी दुई छोरा साकेचुङ प्राविमा पढाउँंदै आएका छन् । यता काइला तामाङ आठ बच्चा मध्ये ३ छोरा र २ छोरी चाँपगुराँस प्राविमा पढाउँंदै आएको र बाख्रा वितरणले सबै छोराछोरीलाई विद्यालय भर्ना गर्ने बताउनुभयो । गरिबीको रेखामुनी रहेको अभिभावकहरु पठनपाठनसँगै व्यवसायिक समेत बन्न सहयोग पुग्ने भएको छ ।