टिकापुरको अवस्था सामान्य, कफ्र्यु भने जारी
धनगढी,९ भदौ । प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान जानेगरी अस्ति सोमवार हिंसात्मक घटना भएको कैलालीको टिकापुरमा अहिले बिहान लगभग समान्य अवस्थामा छ । अवस्था समान्य भएपनि सोमबार प्रहरीमाथि भएको आक्रमणको घटनापछि स्थानीयबासी भने त्रासमा छन् ।
संभावित घटनालाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको स्थानीय प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले जिल्लाको पूर्वी क्षेत्रका १० गाविस र टिकापुरसहित २ वटा नगरपालिकामा कफर्यु जारी नै राखेको छ । पश्चिमी क्षेत्रमा पर्ने धनगढीमा भने बिहान ११ बजेदखि साँझ ६ बजेसम्म कफर्यु आदेश जारी गर्ने तयारी गरिएको स्थानिय प्रशासनलाई उद्धृत गर्दै हाम्रा सहकर्मी शिवराज भट्टले बताएका छन् ।
स्वयत्त थारु प्रदेशको माग गर्दे भएको प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण हुदा सोमबार ८ जनाको मृत्यु भएको थियो । हिजो पनि प्रदर्शनकारीहरुले कर्फयु तोडेर ठाउँ ठाउँमा प्रदर्शन गरेका थिए । सोमबार भएको घटनामा परी गम्भिर घाइते भएका ५ जना प्रहरीको काठमाण्डौँमा उपचार भइरहेको छ भने घाइते आन्दोलनकारीको बाँकेस्थित कोहलपुरमा उपचार भइरहेको छ ।