Live Streaming

​संविधान जारी गराएरै छोड्ने रामचन्द्र पौडेल

काठमाडौं,९ भदौ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान बनाउन नदिन अनेकौ प्रपन्च रचिने काम भएपनि कुनै पनि हालतमा संविधान जारी गराएरै छोड्ने बताउनु भएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित बिहानी कार्यक्रम अन्नपूर्ण फ्रन्टलाइनमा कुरा गर्दै उहाँले  असन्तुष्ट पक्षधरहरुको पनि सहभागितमा अधिकतम सहमति जुटाएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेर छाड्ने दृढता व्यक्त गर्नुभयो ।

मुलुकमा शान्ति सुरक्षा खलवल्याएर संविधान वनाउने काममा अवरोध पुर्याउने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उपसभापति पौडेलले नेपाली कांग्रेस मुलुकलाई निकास र जनतालाई विकास दिन ढृतसंकल्पित रहेको बताउँनुभयो । एमाले उपाध्यक्ष भीम रावलले थारुहरुको राजनीतिक अधिकारको लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि सद्धभाव भड्कने गतिविधिमा नलाग्न आग्रह गर्नुभएको छ ।

अन्नपूर्ण फ्रन्टलाइनमै कुरा गर्दै उपाध्यक्ष रावलले संयमित भएर लोकतान्त्रिक विधिबाट माग सम्बोधन गराउनका सकिने तर्फ सचेत गराउनुभयो । आफुले विगतदेखिनै थारुहरुको राजनीतिक सांस्कृतिक अधिकारका लागि लड्दै आएको बताउँदै उहाँले कोही कसैको भड्कावमा नलाग्न पनि आग्रह गर्नुभयो । कुनै जाति बिषेशको मात्र राज्य हुन नसक्ने भएकाले सबैलाई खुसी पार्न नसकिने पनि बताउँदै रावलले सुदुरपश्चिम अखण्ड हुनुपर्छ भन्ने माग उचित भएको र थारुहरुको अधिकारका लागि विषेश क्षेत्र बनाउन सकिने बताउनुभयो ।