गौरमा एक प्रदर्शनकारीको मृत्यु
फणि महत
रौतहट,८ भदौ । रौतहटको कविरचोकमा प्रहरी र प्रदर्शनकारी बीच झडपमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ।मृत्यु हुनेमा रौतहट मठिया-६ का राजकिशोर ठाकुर रहेका छन्। ठाकुरको उपचारको क्रममा मृत्यु भएको हो । कर्फ्यू तोडेर गरिएको प्रदर्शनले उग्र रुप लिएपछि नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो। अहिले पनि गौरको अवस्था तनावपूर्ण छ।
प्रदर्शनकारीहरु जिल्ला प्रशासन कार्यलय तथा अन्य सरकारी कार्यलयलाई घेराउ गर्ने भन्दै ठूलो संख्यामा गौरमा जम्मा भइरहेका छन्। उनीहरु घरेलु हतियारसमेत बोकेका छन्। सुरक्षाकर्मीमाथि उनीहरुले आक्रमण गरेपछि प्रहरीले लाठी, अश्रुग्यास र हवाइ फायर गरिरहेको छ।सरकारले सोमबार नै रौतहटलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेर सेना परिचालन गर्ने निर्णय गरेको थियो।