Live Streaming

तनाव साम्य पार्ने सहमती

एजेन्सी,८ भदौं । पछिल्लो केहि दिन यता सीमा क्षेत्रमा बढेको तनाव मत्थर पार्न उत्तर र दक्षिण कोरिया सहमत भएका छन् । दुई पक्षबीचको उच्चस्तरिय वार्तापछि दक्षिण कोरिया आफ्नो उत्तरी सिमामा लाउड स्पिकर राखेर दुष्प्रसार नगर्न सहमत भएको हो ।

पछिल्लो समय दक्षिणले उत्तरमा लाउड स्पिकर राखेर दुष्प्रचार गरीरहेको भन्दै उत्तर कोरियाले सैन्य प्रतिक्रियाको चेतावनी दिँंदै आएको थियो । दुई पक्षबीच भएको लामो वार्तापछि दक्षिणले दुष्प्रचार नगर्ने र उत्तरले पनि युद्धको चेतावनी नदिने सहमती भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाले दक्षिणी सिमामा बारुदी सुरुङ राखेको र जसका कारण आफ्ना दुई सैनिक घाइते भएको आरोप लगाउदै दक्षिण कोरियाले लाउड स्पिकर राखेको थियो ।