अनिश्चितकालीन बन्द हडतालको आज ११ औं दिन,जन जीवन प्रभावित
क्रान्ति शाह
वीरगन्ज, ८ भदौ .मधेश केन्द्रित दलहरुको अनिश्चितकालीन बन्द हडताल आज ११ औं दिन पनि जारी रहेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघिय मधेसी मोर्चाले साउन ३० गते देखि अनिश्चिकालीन मधेश बन्द गरेको हो । ११ दिन देखिको बन् हडतालका कारण मधेशका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ ।
वीरुगन्जमा बजार, पसल, शिक्षण संस्था र सरकारी कार्यालयहरु ११ दिन देखि बन्द छन् । वीरगन्जबाट छुटने लामो दुरीका सार्वजनिक सवारी साधनहरु बन्दकर्ताहरुले सन्चालन हुन दिएका छैनन् ।मोर्चाका कार्यकर्ताहरुले घण्टाघर ,घडीअर्वा , पावरहाउस , परवानीपुर लगायतका स्थानमा दिनहु टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गर्दै आएका छन् ।वीरगन्जमा आज बिहानै देखि मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।
बाजागाजा सहित प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ताहरुले तीन दल र सरकारको विरोधमा चर्को नारबाजी गरिरहेका छन् । यस्तै बाराको कलैया र जितपुरमा पनि आज बिहानै देखि मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । कलैयाको भरत चोकमा मोर्चाका कार्यकर्ताहरुले टायर बालेर सडक अवरुद्ध पारेका छन् । कलैयामा पनि ११ दिन देखि बजार , पसल , शिक्ष्ँण संस्था र सरकारी कार्यालयहरु खुलेका छैनन् । कलैया वीरुगन्ज सडकखण्डमा सार्वजनिक यातायातका सवारी सधानहरु पनि चलेका छैनन् ।