Live Streaming

सेना परिचालन गरेपछि टीकापुको स्थिती सामान्य बन्दै

शिवराज भट्ट

शिवराज भट्ट
धनगढी,८ भाद्र । थरुहट पक्षधर प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि गरेको आक्रमणका कारण हिजो दिनभरजसो तनावग्रस्त बनेको कैलालीको टिकापुर क्षेत्रको स्थिती सामान्य उन्मुख बन्दै गएको छ । स्थानीय प्रशासनले त्यस क्षेत्रमा हिजो दिउँंसो २ बजेदेखि लगाएको अनिश्चितकालिन कर्फ्यु जारी छ । सरकारले दंगाग्रस्त क्षेत्र घोषणा गरेसँंंगै लम्कीदेखि टिकापुरसम्म ठूलो संख्यामा सैनिक परिचालन गरिएको हाम्रा सहकर्मी शिवराज भट्टले बताएका छन् । जिल्लाका अन्य क्षेत्रमा पनि प्रहरीको उपस्थिती बाक्लो बनाइएको छ । 


निषेधित क्षेत्रमा घरेलु हतियार बोकेर हजारौंको समूहमा जुलुस निकालेका थरुहट पक्षधर आन्दोलनकारीले आक्रमण गर्दा हिंजो नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र एक नावालकको मृत्यु भएको थियो । ५० जना भन्दा बढी घाइते छन् । गम्भिर घाइते भएका नेपाल प्रहरीका ९ जना र सशस्त्र प्रहरीका ५ जनालाई उपचारका लागि गएराती नै नेपालगञ्ज लगिएको छ । मृत्यु भएका ७ सुरक्षाकर्मीको शव धनगढी लगेर उनीहरुको परिवारलाई बुझाउन सम्वन्धित गृहजिल्लामा पठाउन तयारी भइरहेको स्थानिय प्रशासनले जनाएको छ । 


सरकार द्धारा रौतहटलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएपछि जिल्ल सुरक्षा समितिले राति १० बजेदेखी जिल्लामा दंगाग्रस्त क्षेत्र निर्धारण गरेको छ । शान्ति सुरक्षालाई मध्य नजर गर्दै जिल्लाको गौर चपुरसडक खन्डलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । दंगाग्रस्त क्षेत्रमा चार पाँच जनालाई एक ठाँउमा जम्मा हुन, सभा सम्मेलन गर्न, हुहल्ला गर्न, पर्चा पम्पलेट टाँस्नमा प्रतिबन्ध लगाईएको छ । त्यस्तै हिजो देखी नै रौतहटमा सेना परिचालन रहेको छ । राति मधेशी दलका नेता कायाकार्ताहरुले बाहिरबाट आउने कसैलाई पनि गौरमा प्रवेस नहुन दिनको लागी ठाँउ ठाँउमा स्काभेटर लगाएर मूलबाटो नै खनेर सडक अवरुद्ध पारेका छन ।  यस्तै सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलका अनुसार कफ्र्यू लागेका रौतहट र नेपालगन्जमा पनि स्थानीय प्रशासनको समन्वयमा अरु सुरक्षा अङ्गका साथ गस्तिका लागि नेपाली सेना सहभागी छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जिल्लामा नेपाली सेना परिचालन गर्नुपर्ने अवस्था नरहेको बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी काफ्लेले सर्लाहीमा शान्तिपूर्ण रुपमै आन्दोलन भैरहेकाले अहिले नै नेपाली सेना परिचालन गरिहाल्नु  पर्ने अवस्था नरहेको बताउनु भएको हो । उहाँका अनुसार संम्भावित घटनालाई मध्य नजर गर्दै आज बिहानै देखि सदरमुकाम मलंगवामा ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । सदरमुकाम मलंगवामा सर्लाहीका विभिन्न स्थानका प्रहरी चौकीहरुबाट थप मद्धतका लागी प्रहरी झिकाएर खटाईएको छ । 

यता आन्दोलन, प्रर्दशनका विषयमा छलफल गर्न चितवनमा सर्वदलीय बैठक बस्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले अहिले केहिबरेमा सर्वदलिय, सर्वपक्षिय बैठक आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले आजको बैठकले चितवनको अवस्थाको बारेमा जानकारी आएपछि सोही अनुसार कदम चाल्ने बताउनुभयो । कैलालीको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा समितिको आकस्मिक बैठकले सेना परिचालन गर्न दिने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियो । चितवनमा पनि थरुहट आन्दोलन चर्कन सक्ने संभावना भएकाले अहिलेदेखि नै जिल्लामा सर्तकता अपनाउन थालिएको छ ।