अब राङ्सी गाविसमा जुवा तास खेल्न र जाँडरक्सी सेवन गर्न पाइने छैन
खेम बुढामगर
नमुना गाविसको तयारी
रोल्पा, ४ भाद्र । अब जो कोही राङ्सी गाविस पुगेर जाड रक्सी सेवन गर्न पाउने छैनन् । जुवा तास समेत खेल्न पाउने छैनन्, किनकी राङ्सी गाविसमा यस्तो कार्यमा प्रतिवन्ध लगाइएको छ । समाजमा विकृति र विसंगति हटाउँंदै रोल्पाको पश्चिमी राङ्सी गाविसलाई ‘नमूना गाविस’ बनाउने पहल थालिएको छ । जुवातास खेल्न र खेलाउन, जाँड रक्सी बेचबिखन, सेवन र ओसारपसार माथि प्रतिवन्ध लगाइएको छ ।
गाविसमा जातिय विभेद हुन नदिन राङ्सीवासीले यस अघि नै छुवाछुत मुक्त गाविस घोषणा गरिसकेका छन् । गाविसलाई एक घर एक शौचालय बनाइसकेका उनीहरुले गाविसलाई खुला दिशामुक्त घोषणा गरिसकेका छन् । शुक्रबारबाट राङ्सीबासीले जुवा तास खेल्न र जाँड रक्सी सेवनमा प्रतिवन्ध लगाएका हुन् ।
गाविसका राजनीतिक दल, नागरिक अगुवा, शिक्षक, बुद्धीजिवी, युवा, प्रहरी प्रशासन सबै मिलेर जाँड रक्सी किनबेच गर्न नपाइने मात्र होइन सेवन पनि गर्न नपाइने निर्णय नै गरेका छन् । गाविस सचिव दयाबहादुर बुढामगरले जुवा तास खेलाउने वा खेल्नमा समेत प्रतिवन्ध लगाइएको जनाए । जुवा तास र मदिरापानले गाउँ समाजमा विकृति विसंगति ल्याएकाले गाउँलेले प्रतिवन्ध लगाउन पटकपटक वैठक गर्दै आएका थिए । बिहीबार उनीहरुले प्रतिवन्ध लगाउने निर्णय गरेको सचिव वुढामगरले बताए।
सर्वपक्षीय वैठकले जुवातास खेल्ने खेलाउनेलाई पटकै पिच्छे जनही दश हजार जरिवाना गर्ने निर्णय गरेको छ । ‘जुवा तास खेल्ने स्थान मै फेला परेमा बरामद चलअचल सम्पत्ति जफत गरिन्छ ।’, सचिव बुढामगर भन्छन, ‘जाँड रक्सी सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गरेको पाइएमा वा बिक्री वितरण गरेमा पहिलो पटक पाँच हजार जरिवाना हुन्छ ।’ दोस्रो पटक पदिरा सेवन र बिक्री वितरण गरेको पाइमा दश हजार जरिवाना गर्ने निर्णय भएको छ ।
गाविसले शुक्रबारबाट लागू हुने गरि प्रतिवन्ध सम्बन्धि सूचना सार्वजनिक स्थलमा टाँस गरेको छ । सूचनामा सर्वपक्षिय निर्णयको पालनामा अतेरी गरेमा कडा कारवाही गरिने उल्लेख छ । नेपाल प्रहरीले समेत जिल्लामा घरेलु मदिरा वेचविखन, ओसारपसार र सेवन विरुद्ध अभियान चलाईरहेको छ । प्रहरी नायव उपरिक्षक रमेश थापाको पहलमा सदरमुकाम लिबाङ वजारमा घरेलु मदिरा उत्पादन केन्द्रमा छापामारेर नष्ट गर्ने काम समेत भएको छ । घरेलु मदिरा नियन्त्रणमा प्रहरी सक्रिय भईरहेको वेला राङ्सीवासीले मदिराजन्य सबै पदार्थ सेवन र जुवा तासमा प्रतिवन्ध लगाईनु सह्रानिय काम भएको प्रहरीले जनाएको छ ।
राङ्सीवासीले आफ्नो गाविसलाई जिल्लाका ४९ गाविस मध्ये कै नमूना वनाउने ध्याउन्नमा छन् । उनीहरुले गत वर्ष नै छुवाछुट मुक्त गाविस घोषणा गरे । सबैको घर घरमा शौचालय वनाए । बाल विवाह अन्त्य गर्न विभिन्न चेतनामूलक काम समेत गरिरहेको जिल्ला बाल कल्याण संरक्षण समितिका अधिकृत गोकर्णप्रसाद पुनमगर वताउँछन । बाल क्लव, युवा क्लव, आमा समूह, वडा नागरिक मञ्चहरुले बाल विवाह रोक्ने अभियान थालेका छन ।
गाविसमा हुने औपचारिक र अनौपचारिक कार्यक्रमलाई प्रभावकारी वनाउन समय पालना सम्बन्धि ‘आचारसंहिता’ जारी गरेका छन । कुनै पनि कार्यक्रम ठीक समयमा सुरु गर्नु पर्ने र अतिथि तथा सहभागी निर्धारित समयमै उपस्थित हुनका लागि ११ वुँदे आचारसंहिता जारी गरेका हुन् । आचारसंहिता छपाई गरी राङ्सीवासीका प्रत्येकको घर घरमा पु¥याईएको छ । राङ्सी गाविसको अनुकरणिय कामको सबैले सिको गर्न सके समाज सुधार हुने थियो ।