पहिरोले ७ घर पुरिए, २५ परिवार विस्थापित
माया अधिकारी
पर्वत,४ भाद्र । निरन्तर खसिरहेको पहिरोका कारण पर्वतको पाङ्गस्थित मालढुंगाको सुकुम्बासी बस्ती उच्च जोखिममा परेको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ नुवारको डिलबाट झरेको पहिरो बस्तीमा पसेपछि मालढुंगामा बस्दै आएका सुकुम्बासीको बस्ती उच्च जोखिममा परेको हो ।
पहिरोले ७ वटा घर पुरेको छ भने म्याग्दी र मुस्ताङ्गलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्ने एक मात्र सडक मालढुंगा बेनी सडक समेत पटक पटक अवरुद्ध हुने गरेको छ । पहिरोले सुकुम्बासी बस्तीका हरिबहादुर माझी, बलबहादुर माझी, सरिता माझी, राजकुमार माझी, याम बहादुर माझी, सोमबहादुर गुरुङ, गणेश माझीको घर पुरेको छ ।
पहिरो निरन्तर खसिरहेका कारण कुनै दिन ठूलो पहिराले बस्ति नै पुर्न सक्ने स्थानीयबासीहरुको गुनासो छ । पहिरोका कारण स्थानिय २५ घर पुर्ण रुपमा विथापित बनेको छन् । उनिहरु खुल्ला आकासमुखि जीवन गुजार्न बाध्य छन् । पहिरोका कारण विस्थापीत भएका सुकुमबासीहरुको आफनो कुनै जग्गा नभएका कारण अन्यत्र पुर्नस्थापना हुन पनि समस्या परेको छ । नुवारको डिलमा भूकम्पका कारण चिरा परेको जमिनबाट पानीको मुल निस्केर पहिरो खसेपछि मालढुंगा वस्ती उच्च जोखिममा परेको हो ।
वस्ती उच्च जोखिममा परेपनि स्थानीय प्रशासनले भने कम चासो देखाएको पिडितहरुको गुनासो रहेको छ । पहिरो पिडित राजकुमार माझी भन्छन–‘मजदुरी गरी खाने हामीलाई गाँससंगै बाँसको पनि चिन्ता परेको छ’ केहि परिवार आफन्तकोमा विस्थापीत भएपनि घरमै रहेका परिवार भने रातको समयमा जाग्राम बस्ने गरेका छन् ।
‘रातको बेला पानी आउँदा घर छाडेर भाग्छौ’ पहिरो पिडित सोमबहादुर माझी भन्छन–‘रातको समयमा केटाकटी लिएर भाग्न निकै समस्या पर्ने गरेको छ ।’ पहिरोको उच्च जोखिम रहेपनि हालसम्म स्थानीय प्रशासनले भने बस्तीलाई स्थानान्तरण गर्न सकिरहेको छैन । पाङ क्षेत्रमा निकै ठूलो सार्वजनिक चौर रहेकाले उक्त चौरमा वस्ती स्थानान्तरण गर्न सकिने जिल्ला स्थीत अधिकारकर्मीहरुले बताउदै आएपनि प्रशासनले भने त्यसमा चासो देखाएको छैन ।
सहायक प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराई भन्छन–‘वस्तीका वासिन्दालाई सुरक्षित स्थानमा जान औपचारिक आग्रह गरेपनि केहि परिवार अझै वस्ती भित्रै छन’ । ‘जोखिम हुँदा हुदै पनि वस्तीका बासिन्दाले अटेर गरेर वस्ती छाडन नमानेको भट्टराईको आरोप छ ।’ भट्टराई भन्छन ‘प्रशासनले सुरक्षित स्थानमा वस्ती स्थानान्तरण गर्ने प्रयास गरीरहेको छ ।’ साउन ३ गते देखि खसिरहेको पहिरो अहिलेसम्म रोकिएको छैन । पहिरो नरोकिएपछि सो स्थानका ६५ घर जोखिममा परेका छन् ।