कुमार घैंटेलाई सहिद घोषणा गर्न कांग्रेस सभसद्को माग
दोहाेरो फायरिङमा घैंटे मरे : गृहमन्त्री
काठमाडौं,,४ भाद्र । नेपाली कांग्रेसका केही सभासद्हरुले कुमार घैंटे मारिएकोमा दुःख व्यक्त गर्दै उनलाई सहिद घोषणा गर्नुपर्ने माग गरेका छन् । व्यवस्थापिका संसद्को शुक्रबारको बैठकमा बोल्दै कांग्रेसका कौशर साहले घैंटेलाई प्रहरीले योजनवद्ध रुपमा मारेको बताउँदै उनलाई सहिद घोषणा गर्नुपर्ने माग गरिन् । उनले भनिन् , उसलाई सुधार गरेर ठूलो मान्छे बन्न सक्थ्यो तर प्रहरीले गोली हानेर मार्यो ।
त्यसैगरी कांग्रेसका भीमसेनादास प्रधानले पनि प्रहरीले सुनियोजित रुपमा घैटेलाई मारेको बताए ।उनले मृत्युदण्ड छैन भन्ने तर दिन दाहाडै मान्छे मार्न पाइने भएपछि अदालत जेल किन चाहियो भन्ने प्रश्न गरे । उनले घैंटे मारिएको घटनाबारे छानबिन हुनुपर्ने बताए।
संसद्मा जवाफ दिदै गृह तथा उपप्रधानमन्त्री वामदेव गौतमले दाेहोरो फायरिङका क्रममा घैंटे मारिएकाे बताए । उनले भने, नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै गोली लाएपछि अात्मरक्षाका लागि प्रहरीले फायरिङ गर्दा घाइते भएका घैंटेको अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो।