आफन्त नै अभियुक्त
बडिखेल हत्या प्रकरण
अन्नपूर्ण
काठमाडौं, ४ भाद्र । बडिखेलस्थित खेलगाउँमा एकै परिवारका पाँचजना सदस्यको हत्या गरेको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ। २०६० असोज १६ गते राति सुतिरहेका ३६ वर्षीय हीरालाल भन्ने भानु नगरकोटी, उनकी पत्नी ३० वर्षीया धनकुमारी, छोरा १३ वर्षीय रवीन्द्र, छोरीहरू १० वर्षीया लुरी र आठ वर्षीया टुकुलीको खुकुरी प्रहार गरी हत्या भएको थियो।हत्यामा संलग्न भएको अरोपमा प्रहरीले भक्तपुर झौखेलका चन्द्रबहादुर पहरीलाई पक्राउ गरेको छ। मृतक भानु र अभियुक्त पहरी ज्वाइँ र जेठान हुन्।
घटना हुनु पाँच दिन पहिले पहरीकी पत्नी र बहिनी धनुकुमारीबीच मदिरा पिउँदा झगडा भएको थियो। झगडाका क्रममा पहरीले बहिनीज्वाइँलाई मार्ने धम्की दिएका थिए। पत्नी र ज्वाइँ सँगै बसेर मदिरा पिउने र शारीरिक सम्पर्क राख्ने गरेको सूचना पाएपछि पहरी झन् आक्रोशित भएका थिए। घटनाबारे जानकारी दिन बिहीबार महानगरीय प्रहरी अपराध महाशाखामा आयोजित पत्रकारसम्मेलनमा महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, 'मदिरा सेवनले निम्त्याएको झगडा र अवैध शारीरिक सम्पर्कले बडिखेल घटना नित्याएको खुलेको छ। पक्राउ परेका पहरीले पनि साबिती बयान दिएका छन्।'
दसैंको अष्टमीको साँझ नेवारी परम्पराअनुसार कुचीभोज खाएर पहरी परिवारसँग सुतेका थिए। सुरुमा पहरीले घरको माथिल्लो तलाको कोठामा पुगेर सुतिरहेका दुईजनामाथि छपाछप दाउले हानेका थिए। भाग्ने क्रममा मारिएकाहरू बहिनी ज्वाइँ नभएर भान्जा रवीन्द्र र भान्जी लुरी रहेको थाहा पाएपछि पुनः तल्लो तलामा झरी सुतिरहेकी बहिनी धनुकुमारी, ज्वाइँ भानु र भान्जी टुकुलीलाई दाउ प्रहार गेरका थिए।
हत्यापछि पहरीले घरको पूर्वतर्फ रहेको बाँसको झ्याङमा खुकरी फाली खोलामा रगत पुछेर कपडा फेरेका थिए।रिसमा बहिनी ज्वाइँको हत्या गरे पनि भान्जाभान्जीको हत्या गरेको प्रति पहरीले आत्मग्लानि भएको बयान दिएका छन्। ‘मैले बहिनी ज्वाइँलाई मार्न खोजेको थिएँ, भन्जाभान्जी पनि परे। मलाई आत्मग्लानि भएको छ। हत्यापछि म कहिल्यै पनि राम्रोसँग सुत्न सकिनँ', पहरीले बयानमा भनेका छन्।घरायसी झगडाका कारण ३ वर्षदेखि भक्तपुर झौखेलमा बस्दै आएका पहरीलाई महाशाखाको टोलीले झौखेलबाटै पक्राउ गरेको हो।