सार्क अर्थमन्त्रीस्तरीय बैठक आजदेखि
काठमाडौं,३ साउन । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अर्थमन्त्री स्तरीय सातौं बैठक आजदेखि काठमाडौंमा हुँदैछ । बैठकको उद्घघाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुने र अध्यक्षता अर्थमन्त्री रामशरण महतले गर्नुहुने अर्थमन्त्रालयले जानकारी दिएको छ ।
अर्थमन्त्रीस्तरीय छैटौँ बैठक श्रीलङ्काको कोलम्बोमा सन् २०१३ को अगष्टमा सम्पन्न भएकोे थियो । बैठकमा सार्क क्षेत्रमा लगानीको अवस्थामा सुधार गर्ने, गभर्नर स्तरीय बैठक, साझा मुद्राको प्रचलन र सार्कस्तरमा सबै राष्ट्रको मुद्रा चलनचल्तीमा आउने अवस्था सिर्जना गर्ने विषयमा छलफल हुने छ ।
नेपालका तर्फबाट बैठकमा अर्थमन्त्री महत, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, अर्थ सचिव सुमनप्रसाद शर्मा, परराष्ट्र सचिव शङ्करदास बैरागीलगायतको प्रतिनिधि मण्डलको सहभागिता रहनेछ ।