Live Streaming

बन्दको विरोधमा विद्यार्थीले सडकमै पढे

उदय जीएम
दाङ, २ भदौ । सदरमुकाम घोराहीको तुलसीपुरचोकमा बुधवार एक एक गर्दै विद्यार्थीहरु जम्मा भए । सधैंभरि आन्दोलनकारी एवं बन्दकर्ताहरुको जमघट रहने उक्त चोकमा जम्मा भएका विद्यार्थीहरुले झोलाबाट किताब निकाले । देख्नेहरुमा उत्सुकता पलायो र भीड जम्मा हुँदै गयो । विद्यार्थीहरु भने सडकमै बसेर पढ्न थाले ।

केहीबेर सडकमा बसेर पढिसकेपछि जुरुक्क उठेर विद्यार्थी विक्रम खनालले भने, “विश्वमा कतै पनि शिक्षण संस्थाहरु बन्द भएको सुनिदैन । नेपालमा चाहिँ सधैंभरि स्कूल बन्द भइरहन्छ । यसरी हामी र भावी पुस्ताको भविष्य बर्बाद पारिँदैछ ।” खनालले बन्दकर्ताहरु जोसुकै भए पनि आगामी दिनमा विद्यालयहरु बन्द नगर्न आग्रह गरे । “बन्दको विकल्प खोज्नुहोस् तर विद्यालय बन्द नगर्नुहोस्”, उनले आग्रह गरे ।

अभिभावकहरुले बन्दको विरोधमा आयोजना गरिएको कार्यक्रममा धेरैभन्दा धेरै विद्यार्थीहरु नपठाइदिएकोमा गुनासो गर्दै विक्रमले भने, “अभिभावकहरु पनि सचेत हुनुहोस् । एक दिन होइन, दुई दिन होइन, सधैंभरि बन्दमाथि बन्द हुँदा हाम्रो भविष्य नै अन्धकार हुन थाल्यो । यसतर्फ सबै सरोकारवालाहरु सचेत हुनुपर्छ ।” विश्वमा कतै पनि स्कूल बन्द नगरिने तर नेपालमा मात्रै किन स्कूल बन्द गरिएको हो भनी उनले प्रश्नसमेत गरे ।

त्यसपछि उठेका अर्का विद्यार्थी सुदीप महराले थपे, “विद्यार्थीको पढ्ने अधिकार कुण्ठित भएको छ । यसलाई आन्दोलनकारी र सबै सरोकारवालाले बुझ्नुपर्यो ।” उनले पनि विरोधका लागि बन्दको विकल्प खोज्न आग्रह गर्दै सधैंभरि विद्यालय बन्द भएकोमा खिन्नता व्यक्त गरेका थिए ।

स्मरणरहोस्, कैलाली÷कञ्चनपुरदेखि चितवनसम्म थारु संयुक्त संघर्ष समितिले साउन २६ गतेदेखि बन्द गर्दै आएको छ । यसबीचमै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितका ४२ दलले साउन ३१ र ३२ गते दुईदिने नेपाल बन्दकै आव्हान गरेका थिए । त्यसयता बन्द खुल्ने आशा गरिरहेको अवस्थामा पुनः भदौ १ देखि ४ सम्म थारु संयुक्त संघर्ष समितिको तराईका २२ जिल्ला बन्द कार्यक्रमले निरन्तरता पाएको छ ।

दाङमा शिक्षणसंस्थाहरु खोल्ने विषयमा प्याब्सन र बन्दकर्ताबीच पटकपटक वार्ता भए पनि बन्दकर्ताहरुले शिक्षणसंस्था खोल्न दिन मानेका थिएनन् । यही बीचमा विद्यार्थीहरुले बन्दको विरोधमा यस्तो कार्यक्रम आयोजना गरेका हुन् ।