बन्दले तराईको जनजीवन थप प्रभावित
काठमाडौं,२ भाद्र । मधेशकेन्द्रित दल तथा ६ प्रदेशको संघीय संरचनामा असन्तुष्ट पक्षहरुले आह्वान गरेको बन्दका कारण आज पनि देशका विभिन्न भागको जनजीवन प्रभावित बनेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन बन्दको दोस्रो दिन आज पनि तराइको जनजीवन थप कष्टकर बनेको छ ।
हिजो सप्तरीको भारदहमा स्थिती तनावग्रस्त भएपछि आज तराईको सुरक्षा व्यवस्था कडा बनाइएको छ । ६ प्रदेशमा असन्तुष्ट पक्षबाट यसअघि देखि नै बन्द रहदै आएका तराइका जिल्लामा आजदेखि मोर्चाले आह्वान गरेको बन्द थपिएको हो ।
यता थरुहट संघर्ष समितिले गरेको बन्दको प्रभाव पश्चिम तराइका जिल्लामा आज पनि परेको छ । समितीले आफ्ना माग पुरा नभएको भन्दै विरोध र आन्दोलनका कार्यक्रम लम्ब्याएको हो । संघीय सीमांकनमा तराइका जिल्लालाई पहाडी जिल्लामा पारेको भन्दै थरुहट संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।