Live Streaming

​आज नाग पञ्चमी

 

काठमाडौं,२ भाद्र । नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्विर टाँसी पूजाअर्चना गरी मनाइँदैछ ।  प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वमा नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक बिश्वास रहि आएको छ ।

वैदिक मान्यता अनुसार सर्पको राजा मानिने नाग रिसाए भने पानीको अभाव हुने विश्वास रहि आएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसी आएको  धार्मिक बिश्वास छ । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने जनबिश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै चलिआएको छ ।