Live Streaming

​कांग्रेस नेता रामजीको हत्या भएपछि पोखरा तनावग्रस्त

कास्की,२९साउन । कास्की लेखनाथका कांग्रेस नेता रामजी पौडेलको हत्या भएपछि पोखरा तनाबग्रस्त बनेको छ । लेखनाथ–१ पावरहाउस घर भएका पौडेलको  शव पृथ्वीराजमार्ग नजिकैको भीरमा भेटिएको स्थानीयले बताएका छन् ।  उहाँको हात, घाँटीमा चोट देखिएकोले आफन्तहरुले हत्या भएको भन्दै घटनाको छानबीन माग गरेका छन ।

हत्याको विरोधमा उनीहरुले पृथ्वीराजमार्गमा चक्काजाम गरेका छन । आक्रोसित भीडले बा १२ च ३२८० नम्वरको निजी गाडी जलाई दिएका छन । हत्यामा संलग्न भएको आशंकामा नेपाली कांग्रेस लेखनाथ वडानम्बर १६ का सभापति राजु रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ ।

हत्यामा संलग्नताको आंशका गरिएका अरु तीन जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।  पौडेल देउवा पक्षका कांग्रेस नेता हुन् । कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा कोइराला र देउवा पक्षबीच कास्कीमा सदस्यता विवाद रहेको बेला पौडेलको हत्या भएको कांग्रेस निकट नेताहरुले बताएका छन् ।

प्रहरीले शवको मुचुल्का तयार गरेर आफन्तलाई बुझाउने प्रयास गरेपनि हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारले अडान लिएका छन् । स्थानीयले पौडेलको हत्या भएको विरोधमा पृथ्वी राजमार्ग बिहानैदेखि अवरुद्ध गर्नुका साथै प्रदर्शन जारी राखेका छन् ।