जेठी छोडी कान्छी भित्र्याउने गुप्ता पक्राउ
मनोहरकुमार
राजविराज, २९ साउन । दुई छोरी भएको दोष श्रीमतिमाथि थोपार्दै कान्छी भित्र्याउने सप्तरीको कञ्चनरुप नपा–५ का ३५ वर्षीय राजिब कुमार गुप्ता पक्राउ परेका छन् । गुप्तासँगै उनकी कान्छी श्रीमति ३२ वर्षीया हीराकुमारी गुप्ता समेत पक्राउ परेको प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिए ।
सामाजिक परम्पराअनुसार ०६३ वैशाख २८ गते विवाहित जेठी श्रीमतितर्फ आठ र पाँच वर्षकी दुई छोरी छन् । गत जेठ २५ गते दोस्रो विवाह गरेका राजिव कान्छी श्रीमती हिरासँंगै हेटौडामा बस्दै आएका थिए । गुप्ताकी जेठी श्रीमति रिंकुले साउन ९ गते बहुविवाह गरी बसेको चाल पाएपछि उनले सप्तरी प्रहरीसमक्ष उजुरी गरेकी थिइन् ।
पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा साउन १५ गते उजुरी दिएपछि सप्तरी प्रहरीले आरोपितहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, मकवानपुरलाई सहयोगको पत्राचार गरेको थियो । आरोपित राजिव मकवानपुरको हेटौडा मनहरीस्थित नेपाल विद्युत प्राधिकरणमा ज्यालादारी कर्मचारीका रुपमा कार्यरत रहेकाले उतै बस्ने गरेका थिए ।
आरोपितहरुलाई इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएपछि बिहीबार मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक लालध्वज सुवेदीले बताए । आरोपितहरुलाई शुक्रबार जिल्ला अदालतबाट सात दिनको म्याद समेत थप गरी नियन्त्रणमा राखिएको सप्तरी प्रहरीले जनाएको छ ।