तराई बन्दको आज तेस्रो दिन,जनजीवन प्रभावित
काठमाडौं,२९ साउन । थरुहट तथा थारुवान संघर्ष समितिले आह्वान गरेको आमहडताको तेस्रो दिन आज पनि तराईका २२ जिल्लाको जनजीवन प्रभावित भएको छ । छुट्टै थारु प्रदेशको माग गर्दै आह्वान गरिएको बन्दको असर नागरिकको दैनिकीमा परेको हो ।
बन्दका कारण पश्चिम तराईको यातायात कलकारखाना तथा शैक्षिक संस्था ठप्प छन भने चितवन पूर्वका जिल्लाहरुमा आंशिक असर परेको छ । समितिले संघीय संरचनामा जाँदा थारुको पहिचान कायम हुनेगरी प्रदेश निमार्ण गर्नुपर्ने मागसहित साउन ३२ गतेसम्मका लागि बन्द आह्वान गरेको हो । यसैबीच सुदुरपश्चिम बन्द आज नवौं दिन पनि जारी छ ।
अखण्ड सुदुरपश्चिम, हिन्दु राष्ट्र नेपाल,थरुहट प्रदेशको माग गर्दै आमहड्ताल आठ दिन अघि देखि भैरहेका छन । बन्दका कारण शैक्षिक संस्थाहरु, सरकारी कार्यालय, वित्तिय संघ संस्था, गैरसरकारी संघसंस्था, उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय, यातायात सबै ठप्प छन् ।
यस्तै अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानी सुर्खेत माग गर्दै सुर्खेत र जाजरकोटमा पनि प्रदर्शन चर्किएको छ । बन्दका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर भएको छ । यता राप्तीलाई टुक्राएको र सल्यानलाई प्रदेश नम्बर ६ मा राखिएको विरोधमा गरिएको सर्वदलीय आमहड्तालको पाँचै दिन पनि सल्यान ठप्प छ । यता हुम्ला बन्द भने हिजोबाट नै फिर्ता भएको छ ।