आजबाट परिमार्जिक मस्यौदा लेखन
काठमाडौं,२८ साउन । संविधानसभा अन्तर्गतको मस्यौदा समितिले आजबाट संविधानको परिमार्जित विधेयक तयार पार्ने काम सुरु गरेको छ । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले विवादस्पद प्रादेशिक सीमांकनसहित तयार पारेको संविधानको मस्यौदा प्रतिवेदनलाई परिमार्जित विधेयकको रुप दिन मस्यौदा समितिलाई जिम्मा दिइएको छ ।
पाँच दिनको समय पाएको मस्यौदा समितिले आजबाट परिमार्जित विद्येयक तयार पार्ने काम सुरु गरेको हो । विहान केहीबेर बसेको मस्यौदा समितिको वैठकमा संविधानसभाले पठाएको प्रतिवेदन समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ । सभासद्ले मस्यौदा अध्ययन गरेपछि आजै अपरान्ह २ बजे फेरी बस्ने गरि बैठक स्थगित गरिएको समिति सदस्य शेखर कोइरालाले जानकारी दिनुभयो ।
उल्लेखित ६ प्रदेशीय खाकाप्रति लक्षित केही आक्रोशबीच बहुमतले प्रतिवेदन पारित गर्दै संविधानसभाले केही परिमार्जनसहित संविधानको विधेयक बनाउन मस्यौदा समितिलाई भनेको छ । यसैबीच भदौको १० गतेभित्रै संविधान जारी गर्ने गरी गृहकार्य सुरु भएको छ । साउनभित्र मस्यौदा लेखनको काम सक्ने र त्यसको हप्तादिनमा संविधान जारी गर्नेगरि आन्तरीक कार्यतालिका तयार गरेको संविधानसभा सचिवालयले जनाएको छ ।
यस्तै प्रदेशको सीमांकनपछि उत्पन्न विरोध र त्यसलाई पुनर्विचार गर्न सकिने लगायतका विषयमा छलफल गर्न आज चार दलको बैठक बस्दैछ । केहिबेरपछि बानेश्वरमा बस्ने बैठकमा देशका विभिन्न क्षेत्रमा भैरहेका आन्दोलनलाई साम्य पार्ने प्रयास, सिमांकमा हेरफेर गर्न सकिने परिस्थिती लगायत संविधानका अन्य अन्तरबस्तुका विषयमा पनि छलफल हुने श्रोतले जनाएको छ ।