महेन्द्रा र बोलेरो जीप ठोक्किदा एकको मृत्यु, आठ घाइते
उदय जीएम
दाङ, २७ साउन । सिसहनिया–४ पिपरीमा मंगलबार बिहान महेन्द्रा र बोलेरो जीप एकापसमा ठक्कर खाँदा सुर्खेत घरभई हाल नेपाली सेनाको देवीदत्ता गण रोल्पामा कार्यरत ३० वर्षीय बलबहादुर खड्काको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी अन्य ८ जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते भएका ६ जनालाई बुटवल र २ जनालाई नेपालगञ्ज पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र लमहीले जनाएको छ । गम्भीर घाइते भई बुटवल पठाएकाहरुमा सिसहनिया–४ पिपरीका २६ वर्षीया कुशली चौधरी, सोही ठाउँका २० वर्षीया पम्फा गुरुङ, कपिलवस्तु विद्यानगर–७ का ४१ वर्षीय चालक उसमान खान, रुकुमको पिपल–३ का ३५ वर्षीय शशिराम खत्री, अमेलिया घर भएका २२ वर्षीय राजेन्द्र यादव र नाम र ठेगाना खुल्न नसकेका अन्य एक पुरुष रहेका छन् । त्यस्तै, कपिलवस्तु बहादुरगञ्जका ३० वर्षीय सहजात यहमन र कालीकोट घर भएका २७ वर्षीय प्रेमबहादुर बुढालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना १ ज १४१३ महेन्द्रा जीप र विपरीत दिशाबाट आइरहेको बा ५ च ५०२२ बोलेरो जीप एकापसमा ठक्कर खाँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिए ।