नौ महिना पछि बालिका बलात्कार गर्ने थुनामा
मनोहरकुमार
राजविराज, २७ साउन । सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नौ महिनापछि राजविराज नपा–२ का १९ वर्षीय कारी भनिने रियाज मियाँ थुनामा परेका छन् । जिल्ला न्यायाधीश ऋषिप्रसाद अधिकारीको इजलाशले आरोपितलाई पुर्पक्षका लागि मंगलबार राजविराज कारागारमा थुनामा पठाएको हो ।
फरार रहेका आरोपित आफुलाई नाबालक दावी गर्दै जन्मदर्तासहित मंगलबार जिल्ला अदालतमा हाजिर भएका थिए । अदालतले मान्यता प्राप्त चिकित्सकबाट उमेर सम्बन्धमा प्रतिवेदन माग गर्दै तत्काललाई कारागारमा थुनामा पठाउने आदेश गरेको अदालतले जनाएको छ ।
पीडितलाई आरोपितले गत कात्तिक २७ गते घर लगी कोठा थुनी बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा गत कात्तिक २८ गते र महिला तथा बालबालिका कार्यालयमा कात्तिक ३० गते उजुरी निवेदन दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयले गत मंंसिर १ गते उजुरी दर्ता गरेको थियो । सप्तरी जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले फरार आरोपितका नाममा गत पुस २ गते वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो ।