Live Streaming

​पहिरोमा परेर ११ को मृत्यु

काठमाडौं,२६ साउन । डोटीमा पहिरो खस्दा एकै परिवारका ५ जनासहित ६ जनाको मृत्यु भएको छ । अविरल बर्षासँगै डौड गाविसका विभिन्न स्थानमा खसेको पहिरोका कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा गौरा देवी , उनका १२ वर्षीय छोरा हर्क, ५वर्षीय विरेन्द्र, ८ वर्षीय  छोरी सरु र ८ महिनाकी छोरी भावना रहेकी छिन् । 


अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर गुल्मीको दिब्रुङ्ग गाविसमा एकै घरका तीन जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् । गएराती झरेको पहिरोले पुरिएर दिब्रुङ्ग गाविस ३ निवासी ४० वर्षीय आशा नेपाली, उहाँकी ९ वर्षीय छोरा गगन र ३ वर्षीय छोरी ईन्दुको मृत्यु भएको स्थानीय भीमा प्राविका प्रधानाध्यापक विष्णु थापाले बताउनुभयो ।  पहिरोमा पुरिएर दश वर्षीया रनु नेपाली र १३ वर्षीया सुरक्षा नेपाली घाईते बनेका छन् । 


यसैबीच दोलखामा पनि पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ । गएराती परेको अविरल बर्षाका कारण खसेको पहिरोका कारण डाँडाखर्क ८ पाखाटोलका १४ बर्षिय बालक रिजु गिरीको मृत्यु भएको हो । उता अविरल वर्षाले घर भत्कदा रोल्पामा पनि एक जनाको मृत्यु भएको छ ।

तालाबाङ का ५५ वर्षीय लक्षीराम घर्तीमगरको घरले किचेर मृत्यु भएको हो । घर भत्किएर घर्तीमगर पुरिएको खवर पाएपछि घर्तिगाउँ इलाका प्रहरी कार्यालबाट प्रहरी नायव निरिक्षक सुरेन्द्र नाथको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो ।