जुम्लामा गोली चल्यो, व्यवसायी संघका जिल्ला अध्यक्ष घाइते
काठमाडौं,२६ साउन । अखण्ड कर्णालीको माग्दै जुम्लामा भइरहेको आन्दोलनमा ४ राउण्ड गोली चलेको छ । गोली लागेर निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष राजबहादुर महत घाइते हुनुभएको छ । केहिबेर अगाडी प्रहरीले ४ राउण्ड गोली चलाएको हो । प्रदर्शनकारीले अहिले जिल्ला प्रशासन कार्यालय गरिराखेका छन् भने पूरै बजार बन्द छ । आजै बिहान पनि प्रहरीले १४ राउन्ड हवाई फायर गरेको थियो ।
क्षतिपूर्तिसहितको अखण्ड कर्णालीको माग गर्दै प्रदर्शनकारीले प्रमुख दलका पार्टी कार्यालय तोडफोड गरेका छन् । मूख्य बजारमा नै केहीअघि प्रहरीले गोली चलाएको हो । नेपाली कांग्रेस,एमाले र एकिकृत माओवादीले नै पालैपालो आन्दोलनको नेतृत्व गरिराखेका छन् । यता सुर्खेतमा पनि प्रर्दशन चर्किएपछि प्रहरीले हवाइ फायर गरेको छ । अखण्ड मध्यपश्चिमको माग गर्दै आइतवारदेखि सुर्खेत, दैलेख र जुम्लामा बन्द गरिएको छ । आज कालिकोट र जाजरकोटमा पनि बन्द आव्हान गरिएको छ ।
यस्तै थरुहट प्रदेशको माग गर्दै बाँके र बर्दियामा पनि आन्दोलन सुरु भएको छ । बन्दका कारण भेरी र कर्णालीका जिल्लामा सवारी साधन चलेका छैनन् भने बजार, शैक्षिक संस्था, कलकारखाना र उद्योगधन्दाहरु पनि ठप्प छन् । प्रदेशहरुको सीमाङ्कनको विरोधमा अखण्ड मध्यपश्चिमको माग गर्दै शनिवारदेखि सुरु भएको आन्दोलन चर्किदै गएको छ । अर्कोतर्फ बाँके र बर्दियामा भने थरुहट प्रदेशको माग गर्दै आन्दोलन सुरु भएको छ ।
सुर्खेतमा भने आज मंगलवार बिहानैदेखि व्यापक मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । यसैगरी कैलाली र कञ्चनपुरमा पनि थरुहट राज्यको माग गर्दै आज पनि बन्द गरिएको छ । संवाद समितीले तयार पारेको ६ प्रदेशसहितको खाका सच्याएर थरुहट प्रदेश बनाउन माग गर्दै थारु संघ संस्था तथा थारु अगुवाहरुले बन्द गरेका हुन् । यसैबिच, मध्यपश्चिमाञ्चल क्षेत्रका सभासदहरूले विभिन्न जिल्लाहरूमा चर्किएको आन्दोलनप्रति चिन्ता जनाउँदै सबैलाई संयम हुन आह्वान गरेका छन् ।
काठमाडौंमा आज भएको मध्यपश्चिमाञ्चलका सभासदहरूको भेलाले स्थानीयको माग र चाहना बमोजिम नै आफूहरू रहेको प्रतिवद्धता जनाएका हुन् । उनीहरूले जनभावनाको कदर गर्दै राज्य पुनःसंरचना र सिमाङ्कन गरिनुपर्ने पक्षमा आफूहरूलाई उभ्याएका छन् । एमालेका सभासद प्रकाश ज्वालाले अखण्ड मध्यपश्चिम प्रदेश भएमा आफूहरू कर्णाली प्रदेश र थारु क्षेत्रलाई विशेषाधिकार दिइ संरक्षित रुपमा राख्न सहमति भएको बताउनुभयो ।
मध्यपश्चिमका विभिन्न जिल्लाहरूमा आन्दोलन चर्किएपछि त्यसलाई सम्बोधन गर्न मध्यपश्चिम क्षेत्रका करीव चालीस जना सभासदहरू भेला भएर बैठक बसेको हो । सभासदहरूले स्थानीय जनताको भावनाभन्दा बाहिर गएर आफूहरूले कुनै निर्णय गर्न नसक्ने भन्दै कसैको लहलहै नलाग्न आग्रह समेत गरेका छन् ।