Live Streaming

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

परासी,२६ साउन ।  पर्साको निर्मलवस्तीमा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जंगली हात्तीको आक्रमणबाट निर्मलबस्ती गाविस वडा नम्बर ५ गोले टोलका ७३ वर्षीय जरी पाख्रीनको मृत्यु भएको हो । पर्सा वन्यजन्तु आरक्षको जंगलबाट आज बिहान पाँच बजे तिर गाउँंमा छिरेको जंगली हात्तीले पाख्रीनलाई उहाँकै आँगनमा कुल्चेर मारेको प्रहरी चौकी विजयबस्तीका प्रहरी सहायक निरीक्षक अरुण कुमार राउतले बताउनुभयो ।

घरको आंगनमा बसेर मकै छोडाइरहेका बेला हात्ती आएको देखि पछि भाग्ने क्रममा पाख्रीनलाई हात्तीले कुल्चेर मारेको स्थानीय अम्बर निर्दोषले जानकारी दिनुभयो । पाख्रीनको घरमा रहेका उनका श्रीमति र छोराले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । त्यही हात्तीले निर्मलवस्ती गाविस वडा नम्बर ६ मा पनि बिहान दुई वटा घर भत्काएको छ ।

जंगली हात्तीले गएराति शंकर सरैया गाविसमा पनि रातभर उपद्रो मच्चाएको छ । आरक्षको जंगलबाट २०÷२५ वटाको संख्यामा गाँउमा  हात्तीको बथानले शंरसरैया ३ मा धानबाली नष्ट पारिदिएको छ । जंगली हात्तीले स्थानीइ विणा घिमिरे र नन्दु साहको खेतमा लगाइएको धानबाली माडेर नष्ट पारिदिएको प्रहरी चौकी  शंकरसरैयाका हवल्दार हंसलाल यादवले बताउनु भयो ।यसैगरि जंगली हात्तीले पर्साको महादेवपट्टी गाविस ८ शान्तिनगरमा पनि गएराति जङ्गली हात्तीले रातभर उपद्रो मच्चाएको छ ।

आरक्षको जंगलबाट हिजो  बेलुकी आठ बजे नै गाँउमा छिरेको हात्तीले राति ११ बजे सम्म उपद्रो मच्चाएको स्थानीय विशाल सापकोटाले जानकारी दिनु भयो । जंगली हात्तीले स्थानीय भुवनेश्वर कामीको धालबाली माडेर नष्ट पारेको छ ।