Live Streaming

पहिरोमा परेर एकै घरका तीनको मृत्यु

गुल्मी,२६ साउन । अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर गुल्मीको दिब्रुङ्ग गाविसमा एकै घरका तीन जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् । गएराती पहिरोले पुरिएर दिब्रुङ्ग गाविस ३ निवासी ४० वर्षीया आशा नेपाली, उहाँकी ९ वर्षीय छोरा गगन नेपाली र ३ वर्षीया छोरी ईन्दु नेपालीको मृत्यु भएको स्थानीय भीमा प्राविका प्रधानाध्यापक विष्णु थापाले बताउनुभयो ।  

पहिरोमा पुरिएर आशा नेपालीका थप दुई छोरीहरु दश वर्षीया रनु नेपाली र १३ वर्षीया सुरक्षा नेपाली घाइते बनेका छन् । राती साढे २ बजे  घर पछाडिबाट खसेको पहिरोले घर च्यापिएका कारण सो घटना भएको हो । पहिरोमा पुरिएकाहरुको स्थानीयबासिन्दाले आज बिहान उद्दार गरेका थिए ।

घटनाको जानकारी पाएपछि अहिले चन्द्रकोट ईलाका प्रहरी कार्यालयवाट टोली घटना स्थलतर्फ लागि सकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।