Live Streaming

​सिमाकंनको विरोधमा देशका विभिन्न ठाउँंमा प्रदर्शन

काठमाडौं,२५ साउनत । यसैबीच सिमाकंनको बिरोधमा देशका बिभिन्न ठाउँमा प्रर्दशन चर्केका छन् । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा आव्हान गरिएको बन्दले जनजीवन प्रभावित भएको छ । प्रदेशहरुको सीमाङ्कनको विरोधमा अखण्ड मध्यपश्चिम नागरिक आन्दोलन संघर्ष समितिले आव्हान गरेको सुर्खेत बन्दका कारण जनजीवन प्रभावित भएको हो ।

आन्दोलनकारीहरुले अखण्ड मध्यपश्चिमको माग गर्दै सरकारी कार्यालय तोडफोड गरेका छन । नागरिकहरुले समग्र मध्यपश्चिम एक प्रदेश हुनुपर्ने, प्रदेशको राजधानी सुर्खेतमा कायम गर्नुपर्ने, चार दलबीच प्रदेशको सीमाकंनमा भएको सहमति तत्काल खारेज गरिनुपर्ने र सुदुरपश्चिममा गाभिएका भेरी र कर्णालीका जिल्लाहरु फिर्ता गर्नुपर्ने माग गरेका छन् । 


प्रमुख चार राजनितीक दलले ६ प्रदेशमा सम्झौता गरेको भन्दै धनुषा जिल्ला बन्द गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सो सम्झौता अस्विकार गर्दै आज धनुषा जिल्ला बन्द गरेको हो । मोर्चाले मधेशलाई विखण्डन गरि पुनः शोषण गर्ने अभिप्रायले ६ प्रदेशमा सम्झौताको आरोप लगाएको छ । मोर्चा सम्बद्ध राजनीतिक दलका नेता कार्यकर्ताहरुले विहानै देखि जनकपुरको चोक चोकमा विरोध सभा गर्दै कलकाराखान, उद्योग, बजार र शैक्षिक संस्थानहरु बन्द गराएका हुन् । ६ प्रदेशमा सम्झौता भएको जानकारी आएदेखिनै तराईका जिल्लाहरुमा विरोध सुरु भएको हो । 


यसैबीच संघीय प्रदेश विभाजनका क्रममा राप्ती अञ्चल टुक्राइएको र सल्यानलाई ६ नम्बर प्रदेशमा राखिएको विरोधमा आज सल्यान बन्द गरिएको छ । नेपाल तरुण दल, युवा संघ नेपाल र वाइसिएल नेपालले संयुक्त विज्ञप्ति निकालेर सल्यानलाई प्रदेश नम्बर ५ उपयुक्त भएको तर ६ मा राखिएकोले ध्यानाकर्षण गराउँदै निर्णय खारेजीको माग गर्दै अनिश्चितकालीन बन्द गरिने जनाएका छन् । 


उता नेपाललाई हिन्दु राष्ट्र घोषणाको माग राख्दै हिन्दु राष्ट्र संघर्ष समितिले आज पर्सा र बारा जिल्ला बन्दको आह्वान गरेको छ । बन्द आह्वानका कारण पर्सा र बारा दुवै जिल्लाको जनजीवन आज बिहानै देखि प्रभावित भएको छ ।