राजेश्वर देवकोटाको निधन
काठमाडौं,२५ साउन । पञ्चायतकालिन नेता राजेश्वर देवकोटाको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । फोक्सोमा समस्या देखिएपछि दुई साता अघि राजधानीको गोल्फुटारस्थित न्युरो अस्पतालमा भर्ना हुनुभएका देवकोटाको बिहान ६ बजे निधन भएको अस्पतालले जनाएको छ ।
जयतु संस्कृतम आन्दोलनको नेतृत्व गर्दैै राणा विरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका देवकोटा पञ्चायतमा पटक पटक मन्त्री र तीन पटकसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष हुनुभएको थियो । राप्रपाका संस्थापक सदस्य रहेका देबकोटा पञ्चायतकालमै शिक्षा, भूमिसुधार मन्त्री हुनुभएको थियो ।
गोरखा जिल्लाको लिगलिगकोटमा ८७ वर्ष अघि जन्मेका देवकोटा पछिल्लो समय राष्ट्रवादी समुहमा सक्रिय रहनुभएको थियो । देवकोटा राजनीतिमा मात्र नभइ साहित्यमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँको उत्सर्गप्रेम उपन्यासले मदनपुरस्कार पाएको छ ।