Live Streaming

​प्रस्तावित प्रदेशको सिमांकन परिमार्जन गर्नुपर्छ रामचन्द्र पौडेल

काठमाडौं,२५ साउन । नेपाली कँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रस्तावित प्रदेशको सिमांकन परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित बिहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै उहाँले सहमतिका लागि पाँच प्रदेशमा जान सकिने बताउनुभयो ।

सिरहा र सप्तरीलाई प्रदेश नम्बर १ मा राखेर प्रदेश नम्बर २ मा मकवानपुर र सिन्धुली मिलाउँदै गण्डकी, लुम्वीनी र धौलागिरी नछुट्याइ पाँच प्रदेशमा जान सकिएमा उत्तम हुने उहाँको भनाइ छ । भुमिपुत्र थारु समुदायलाई खण्डित नगरी अखण्ड सुदुरपश्चिम र मध्यपश्चिमको पक्षमा आफ्नो मत रहेको उपसभापति पौडेलले बताउनुभयो । 


जनताका अधिकांश सुझाव समेटिएर नयाँ संविधान जारी हुने बताउँदै उहाँले संसदीय प्रणाली त्याग्न भने नसकिने बताउनुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणाली राखेमा तानाशाह जन्मने र लोकतन्त्रनै सखाप हुने उहाँको जिकिर छ  । अहिलेका शीर्ष नेता पराजित हुने डरले प्रत्यक्ष निर्वाचित प्रणाली नमान्नु भएको त होइन भन्ने प्रश्नमा पौडेलले राष्ट्रपतिमा आफु प्रत्यक्ष जित्ने भएपनि लोकतन्त्रको लागि संसदीय प्रणाली आवश्यक रहेको दावी गर्नुभयो । 


अर्को प्रशंगमा उपसभापति पौडेलले पार्टिको आसन्न महाधिबेशनमा पछि नहट्ने बताउँदै कार्यकर्ता र सहकर्मीहरुको इच्छा अनुसार सभापति पदमा उम्मेदवार दिने बताउनुभयो ।