Live Streaming

प्रतिवेदन अध्ययनका लागि आज सभासदलाई वितरण गरिंदै

काठमाडौं,२५ साउन । सवैंधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पेश गरेको प्रतिवेदन अध्ययनका लागि आज सभासदहरुलाई वितरण गरिंदैछ । दलहरुबीच शनिबार मध्यरात भएको सहमति अनुसारको सिमांकनसहितको ६ प्रदेशसहितको प्रस्तावलाई समिति सभापति बाबुराम भट्टराइले हिजो राती संविधानमा पेश गर्नुभएको थियो ।

भोलीबाट प्रतिवेदनमाथी छलफल हुने संविधानसभा सचिवालयले जनाएको छ । सभाध्यक्ष सुवास नेम्वाङले भोली विहान ९ बजेका लागि संविधानसभा बैठक आव्हान गर्नुभएको छ । संविधानसभामा पेश गरिएको प्रतिवेदनलाई आधार बनाउँदै मस्यौदा समितिले संविधानको विधेयक तयार गर्ने छ ।

संविधान विधेयक तयारीका लागि मस्यौदा समितिले बढिमा चार दिनको समय पाउने यसअघिनै तय भएको छ । मस्यौदा समितिले संविधान विधेयक प्रस्तुत गरेपछि संविधानसभामा संक्षिप्त सैद्धान्तिक छलफल हुनेछ । सैद्धान्तिकरुपमा पारित विधेयकमाथि संसोधन दर्ताका लागि सभासद्हरुलाई दुई दिनको समय दिने र दफाबार छलफल अघि बढाउने संविधानसभा सचिवालयको गृहकार्य छ । जनसुझाव अनुसार परिमार्जन गरिएको प्रतिवेदनमा नगरपालिका प्रमुख, वडा प्रमुख छान्न अब सबै मतदाताले भोट हाल्न पाउनेछन् ।

सदस्यको चयन अब निर्वाचन मार्फत हुनेछ । सुरक्षा परिषद्मा मुख्य सचिव र प्रधानसेनापति परिषद् सदस्य रहने व्यवस्था गरिएको छ । नागरिकतामा भएको आमा र बाबुको ठाउँमा आमा वा बाबु राखिएको छ । नयाँ संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने व्यवस्था गरिएको छ । राष्ट्रपति पुरुष भए उपराष्ट्रपति महिला हुनुपर्नेछ । सबैभन्दा ठूलो राजनीतिक विवाद रहेका धर्म निरपेक्षतालाई शब्द नहटाई ब्याख्या गरिने र थ्रेसहोल्ड २ प्रतिशत राख्नेमा दलहरु सहमति नजिक पुगेको दावी गरेका छन् । 
 
यसअघि हिजो बैठकमा प्रतिवेदनमाथि विरोध जनाउँदै राप्रपा नेपाल लगायतका केही विपक्षीदलहरुले संविधानसभा घेराउ गर्नुका साथै केही बेर नाराबाजी गरेको थिए । जिल्ला टुक्राइएको, सिमांकन नमिलाएको लगायतका कारण उल्लेख गर्दे सहमतिका हस्ताक्षरकर्ता दलका सभासदहरुले पनि असहमति राखेका छन् । कतिपय जिल्लामा र क्षेत्रमा यही बिषयलाई लिएर सर्वासधारण र सरोकारवालाहरुले समेत विरोध गरेका छन् । 


संघीय प्रदेश विभाजनका क्रममा राप्ती टुक्राइएको र सल्यानलाइ ६ नम्बर प्रदेशमा राखिएको विरोधमा आज सल्यान बन्द गरिएको छ । सल्यानलाई अन्याय गरिएको भन्दै सल्यान रुकुम यातायात समिति, उद्योग वाणिज्य संघ लगाएतले सल्यान बन्द गराएका हुन् । बन्दको प्रभावका कारण विहानैदेखि सडकमा कुनै पनि सवारिका साधन चल्न सकेका छैनन् भने जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना पनि बन्द छन ।