प्रमुख दलका नेता नै असन्तुष्ट
काठमाडौं,२४ साउन । प्रमुख चार दलहरुबीच सिमांकनसहितको ६ प्रदेशमा सहमति भएसँगै यसप्रति प्रमुख दलकै केही नेताहरुले असन्तुष्टी जनाएका छन् । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले बागलुङ टुक्राउने सहमति आफूलाई मन नपरेको प्रतिक्रिया दिनुभएको छ ।
सम्वाद समितिको बैठकमा सहभागी हुन आज सिंहदरबार पुगेपछि सञ्चारकर्मीसँग नेता देउवाले सहमतिबारे अझै शीर्ष संयन्त्रमा छलफल जारी रहेको बताउँदै प्रक्रिया जाँदाजाँदै पनि शीर्ष तहमा छलफल गरेर केही कुरा मिलाउन सकिने बताउनुभयो ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सिमांकन सहितको ६ प्रदेशको सहमतिले विखण्डनको बिउ रोपेको टिप्पणी गर्नुभएको छ । उहाँले सबैभन्दा पहिले ८ जिल्लाको मधेस प्रदेश टुक्रिने दाबी गर्नुभयो । उता, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले संशोधित मस्यौदा मधेसविरोधी रहेको बताउनुभएको छ ।
पर्सामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झाले सीमांकनको विषयमा चार दलबीच भएको सहमतिले विखण्डन ल्याउने टिप्पणी गर्नुभयो ।