Live Streaming

​प्रदेशको विभाजनमा तनहुँबासीको राय आर्थिक हिसाबले मध्यम

पवन पौडेल


तनहुँ,२४ साउन ।  प्रमुख दलहरुबीच भएको सहमतिअनुसार विभाजन हुने भनिएको चार नम्बर प्रदेसका विषयमा जिल्लाको नागरिक समाजले सकारात्मक प्रतिक्रिया जनाएको छ । तर उनीहरु सबैको एउटै गुनासो छ, प्रदेश आर्थिक हिसाबले अब्बल भएन । 

तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शान्तिरमण वाग्ले हिमालदेखि तराईका भाग हुनु प्रदेसका लागि सकारात्मक भए पनि तराईको भूभाग कम भएकाले आर्थिक हिसाबले प्रदेस धेरै बलियो हुन नसक्ने धारणा राख्छन् । ‘उद्योग धन्दा धेरै हुने समथर भूभागको अभाव खट्किएको छ,’ उनले भने,‘यसले प्रदेसको आर्थिक समृद्धिमा केही प्रभाव पार्ने देखिएको छ ।’ यद्यपि प्रदेस आर्थिक हिसाबले साह्रै कमजोर भने नहुने उनले विश्वास व्यक्त गरे । ‘औद्योगिक वातावरणका लागि ठूला समथर जमिन र अन्तर्राष्ट्रिय विमानस्थलसम्म निर्माण हुने अवस्था भएको भए अझ राम्रो हुने थियो,’ उनले भने,‘यसबाहेक अहिले हुने भनिएको विभाजन सकारात्मक छ ।’


वाग्लेजस्तै बार एसोसिएसन तनहुँ जिल्ला अदालत बार इकाइका अध्यक्ष ऋषिराम पोख्रेल पनि प्रदेसले हिमालदेखि तराईसम्म समेट्न सकेकोमा खुशी भए पनि तराईको भाग कम परेकोमा थोरै चिन्तित छन् । ‘भोली संघहरुबीच समस्या आएमा आफु खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने हो कि भन्ने हो,’ उनले भने,‘त्यसबाहेक अहिलेको विभाजन सन्तोषजनक छ ।’गण्डक क्षेत्रलाई आर्थिक हिसाबले कमजोर बनाउन खोजिएको भन्दै नेपाली कांग्रेसले तनहुँमा आन्दोलन समेत गरेको थियो ।

अहिलेको विभाजनपछि भने त्यस क्षेत्रका नागरिक खुसी छन् । स्थानीय समेत रहेका कांग्रेस प्रवक्ता हरिप्रसाद वाग्लेले भने,‘तराईको भाग समेत समावेस गरिएकाले ढुक्क हुने अवस्था आएको छ ।’ धेरै नागरिकलाई भोली संघ विभाजन गर्दा आफूसंग पर्याप्त श्रोत साधन नहुने हो भने अर्को प्रदेससंग विवाद हुँदा समस्या पर्नसक्ने भय देखिएको छ । आफुहरु रहने क्षेत्रमा हिमाल, पहाड र तराई तीनवटै क्षेत्र मिसिएकाले यसले आर्थिक हिसाबले धेरै समस्या नपर्ने उनीहरुको बुझाई छ ।

अपाङ्गता अधिकारकर्मी मदन पौडेल यस प्रदेसलाई आर्थिक हिसाबले सक्षमको संज्ञा दिन्छन् । ‘हामीसंग सुगमताको समस्या छैन,’ उनले भने,‘अहिलेको विभाजनले आर्थिक मुद्दालाई पनि सम्बोधन गरेजस्तो लागेको छ ।’ उनले जलश्रोतको सम्पदा प्रचुर भएकाले यस क्षेत्रलाई आर्थिक हिसाबले समसया नहुने विश्लेषण गरे ।