बस तिनाउ खोलामा खस्यो, म नालीभित्र सुते

जगदिश भट्टराई / महेन्द्र थापा
बुटबल,,२४ साउन । बुटवलबाट पाल्पा जाने सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर नजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको अवस्थामा एउटा माइक्रो बस तिनाउ खोलामा खसेको छ। अहिलेसम्म दुई जनाको शव निकालिइएको छ। एकजनाको शव बगेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ। पहिरोले दुवैतर्फबाट यातयात बन्द भएकोले उद्धारमा कठिनाइ भएको छ। पहिरोले बगाएको बस तिनाउ खोलाको बाढी डुबेको छ।
लु १ ख ५७७१ नम्बरको बस दुवैतर्फबाट पहिरो झरेपछि बीचमा अड्किएको थियो। केही यात्रुहरु उत्रेपछि पहिरोले गाडी खोलामा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। माइक्रो बसमा उन्नाइसजना थिए। केही अझै सम्पर्कमा आउन सकेका छैनन्।
अन्य यात्रुहरु पनि खोलामा डुबेको हुनसक्ने आशंका गरिएको छ।तर क्षतिको विस्तृत विवरण आएको छैन।पश्चिम क्षेत्रीय ट्राफिक कार्यलयका एसपी हरी वाग्लेले पहिरोले सडक अवरुद्ध भएकोले तिनाउ खोलामा खसेको बसको उद्धार गर्न कठिनाइ भइरहेको बताए। उनका अनुसार डोजर प्रयोग गरेर दुवैतर्फबाट बाटो खुलाउने प्रयास भइरहेको छ।
पश्चिम नेपाल बस व्यावसायी समितिका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले यो घटना सवा १ बजे भएको बताए । आफू खबर पाउने वित्तिकै एम्वुलेन्स लिएर घटना स्थलतर्फ गएकोमा पहिरोले सडक अवरुद्ध भएकोले उद्धारमा ढिलाई भएको जानकारी दिए। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन खण्डको पाल्पको सिद्धबाबा मन्दिर नजिकैको यो क्षेत्र ढुंगे पहिरोको लागि ज्यादै जोखिम युक्त क्षेत्रको रुपमा देखिएको छ । यही ठाउँमा २०६१ सालको कात्तिक महिनामा खसेको ढुंगे पहिरोले बस र ट्रक पुरिँदा बसका ११ जना यात्रुको घटना स्थलमै ज्यान गएको थियो। यो ठाउँमा पटकपटक दुर्घटना हुँदै आएका छन्।
नालीमा सुतेर बाँचे : लिलामणि अधिकारी, गाडी धनी
मेरो घर पाल्पाको यम्घा हो । लु१ख ५७७१ नम्वरको यो मिनी बस भर्खरै अर्को गाडी बेचेर किनेको थिएँ । १० मोडलको गाडी हो यो । चालक राउतको अवस्था सामान्य छ । उनको प्राथमिक उपचार बुटवलको अस्पतालमा गरिएको छ।
शनिबार मध्यान्ह पौने १२ बजे हामी तानसेनबाट बुटवलका लागि हिँडेका थियौं । पाल्पाबाट झर्दै ठाउँठाउँमा ससाना पहिरोका समस्या वेहोर्नु परेको थियो । अचानक सिद्धबाबा मन्दिर नजिकै आईपुग्दा चुरे पहाडबाट ढुंगा र लेदो सहितको पहिरो खस्यो । अगाडी पछाडी दुवैतिर पहिरो भएकोले गाडी रोकियो । चालक कमल राउत र छोरा अमित अधिकारी सहित सबैजसो यात्रु ओर्लिए । म सबैलाई निकालेर पछि निस्कें ।
११ जना यात्रुलाई पहिरो पार गराएर पाल्पातिर पठाएँ । हामी गाडीमा १९ जना यात्रु र स्टाफ गरी २६ जना थियौं । गाडीबाट निस्केका वढीमा चार पाँचजना यात्रु पहिरो पार गर्न नसकेर अलमलिएको हुनसक्छ । म भने नजिकैको नालीभित्र पसेर सुतेँ । गाडीलाई पहिरोले बगाईदियो । तिनाउ नदी किनारमा भेटिएका दुईवटा शव लेदो सहित भएकाले उनीहरु पहिरोले बगाएको प्रष्ट हुन्छ ।