बागलुङ टुक्राएको विरोधमा अनिश्चितकालिन बन्द
गोपाल छन्त्याल
म्याग्दी,२४ साउन । संघीय प्रदेश निर्माणका लागि दलहरुले बागलुङलाई टुक्राएपछि आइतबार त्यहाँ आन्दोलन शुरु भएको छ । बागलुङबासीले जिल्ला टुक्राएको विरोधमा अनिश्चितकालिन बन्द आह्वान गरेका छन् ।
बागलुङ टुक्राएको विरोधमा सत्तारुढ दलहरु कांग्रेस, एमाले र विपक्षी दल माओवादी र राष्ट्रिय जनमोर्चासहितका दल र नागरिक समाज एकसाथ सडकमा ओर्लेका हुन् ।
बागलुङमा सक्रिय ६ वटा दलले आइतबार संयुक्त विज्ञप्ती निकाली बागलुङ प्राकृतिक सम्पदामाथि आँखा गाडेर जिल्लालाई नियतवश टुक्राइएको भन्दै आन्दोलन घोषणा गरेका हुन् ।
दलहरु, नागरिक समाज र उद्योगी व्यापारीसमेतले संयुक्तरुपमा बिहान ११ बजेबाट बागलुङ बन्दको आह्वान गरेका छन् । बजार बन्द गराउन दलका नेता कार्यकर्तादेखि व्यापारी र नागरिक समाजका सदस्य समेत सडकमा ओर्लेका छन् ।
‘संविधान निर्माणका क्रममा जिल्लाको पश्चिमी क्षेत्रलाई टुक्राएर अर्को प्रदेशमा राख्ने बदनियतपूर्ण निर्णयले बागलुङ मर्माहत छ’, विज्ञप्तीमा भनिएको छ, ‘जिल्लाको पश्चिममा रहेको जलश्रोत, ढोरपाटन लगायतको सम्पदामाथि गिद्धे नजर लगाएर गरिएको निर्णय स्वीकार्दैनौं ।’
चार दलले शनिवार बागलुङलार्इ दुई टुक्रा पारेर प्रस्तावित ६ प्रदेशको चार र पाँच नम्वर प्रदेशमा राखेका थिए । बागलुङलार्इ टुक्राएको विरोध र अखण्ड बागलुङको माग गर्दै बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङ बजार, मध्यकको गल्कोट र दक्षिणको कुश्मीसेरा बजार पनि बन्द भएका छन् ।
प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जिल्लाबासीले स्वस्फुर्त रुपमा बन्द गरेकोले आन्दोलन शान्तिपूर्ण रहेको बताए । ‘भोलीदेखि शैक्षिक संस्थाहरु पनि बन्द हुने जानकारीमा आएको छ, हामी सुरक्षाका लागि कटिबद्ध छौँ, उनले भने ।