माओवादीका कार्यकर्ताले गाविस सचिवलाई कालो मुसो दले

क्रान्ति शाह
वीरगन्ज , २४ साउन । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले बाराको मनहर्वा गाविसका सचिवलाई आज बिहान कालोमोसो दलेका छ्न । नेकपा माओवादीको राष्ट्रिय जन स्वयंसेवकका कार्यकर्ताहरुले गाविस सचिव कमल प्रसाद भुर्तेललाइ कालोमोसो दलेका हुन् ।
डुमरवानाबाट मनहर्वा गाविसको कार्यालय जाने क्रममा माओवादी कार्यकर्ताले बेङा पुल नजिक गाविस सचिव भुर्तेललाइ कालोमोसो दलेका हुन् । गाविसको रकम हिनामिना गरेको र भुमाफियासंग मिलेर गाविसको सार्वजनिक जग्गा बिक्री गर्न सघाएकाले गाविस सचिव भुर्तेललाई कालोमोसो दलिएको नेकपा माओवादीको राष्ट्रिय जन स्वयंसेवकका नारायणी ब्युरो संयोजक असिमले बताउनु भयो ।
तीन जनाको संख्यामा आएका माओवादीका कार्यकर्ताले आफुमाथी पेट्रोल छर्कन खोजेर आक्रमण गर्न खोजेको तर आफू भागेर उम्कन सफल भएको सचिव भुर्तेलले बताउनु भयो । कालोमोसो दलेका माओवादीका कार्यकर्ताहरुले गाविसको महत्वपूर्ण कागजातहरु खोलामा छरेर भागेको पनि सचिव भुर्तेलले बताउनुभयो । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।